सडकमा आफ्नो पक्षमा कुनै प्रकारको प्रदर्शन नर्गन घिसिङद्धारा अपिल

३ असोज, काठमाडौं । केही दिन अघि मात्र कार्यकाल सकिएर राजीनामा दिएर बिदा भएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा आजभोलि सडकमा दिनहुँ उनको पक्षमा प्रदर्शन भइरहेका छन् । उनलाई सरकारले पुन नियुक्ती गर्न प्रदर्शनकारीले भनिरहेका छन् । यसैको मध्यनजर गर्दै घिसिङले कोरोना संक्रमणको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न अनुरोध गरेका छन् ।

आज शनिबार एक विज्ञप्ति जारी गरी घिसिङले कोरोना संक्रमणका कारण आक्रान्त भएको बेला सडकमा भीडभाड गरी प्रदर्शन नगर्न अनुरोध गरेका हुन् ।

‘प्राधिकरणको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवम् स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसात् गर्नैपर्छ,’ घिसिङले विज्ञप्तिमा भनेका छन्, ‘प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

घिसिङ आफ्नो कार्यकालमा नेपालमा लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेका कारण जनस्तरमा लोकप्रिय छन् ।