ओसाकाद्धारा दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि कब्जा

एजेन्सी

२८ भदौ, काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् ।

न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २–१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् ।

पहिलो सेट ६–१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६–३ , ६–३ ले बाँकी सेट आफ्नो पक्षमा पार्दै ट्रफी उचालेकी हुन् ।

सन् २०१३ पछि पहिलो पटक ग्राण्ड्सलामा फाइनल पुगेकी अजारेन्काले उपविजेतामै चित्त बुझाइन् ।

ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन जितेकी
थिइन् । यस्तै उनले २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि समेत जितेकी थिइन् । ओसाकाले फाइनल पुगेको तीनवटै अवसरमा उपाधि जितेकी हुन् ।

‘म तपाईसँग अब अरु फाइनल खेल्न चाहन्छु । मैले साँच्चै यसमा इन्जोए गरिनँ । यो मेरो लागि साँच्चै कठिन म्याच थियो,’ ओसाकाले अजारेन्कालाई ठट्टा गर्दै भनिन्, ‘यो मेरो लागि साँच्चै प्रेरणादायी रह्यो किनकी म सानो हुँदा तपाईको खेल हेर्ने गर्थें । मैले धेरै सिकेँ, त्यसैले धन्यवाद ।’

पुरुषतर्फको उपाधिका लागि डोमिनिक थिएम र एलेक्जान्डर जेभरेभबीच प्रतिस्पर्धा हुनेछ ।