सिन्धुपाल्चोकको बाह्रबिसे पहिरोमा २८ बेपत्ता ३ जनाको शप प्राप्त

२८ भदौ, काठमाडौं । गएराति भारी वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् भने अझै २८ जना बेपत्ता रहेको बताइएको छ ।

पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरिएका छन् । डिएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको प्राप्त भएको बताए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।