बागलुङमा बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति

२८, भाद्र बाग्लुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । घर्तीका अनुसार पुल मर्मत सँभार गर्नका लागि मात्रै रु एक करोडभन्दा बढी खर्च लाग्नेछ ।

यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्याएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए ।

“अविरल वर्षासँगै आएको बाढीबाट ताराखोलामा ठूलो भौतिक क्षति भएको छ”, अध्यक्ष घर्तीले भने, “बाढीका कारण झोलुङ्गे पुल, मोटरेबल पुल, जलविद्युत् तथा सडकमा क्षति पुगेको छ ।” घर्तीले सडक, जलविद्युत् तथा पुल मर्मत कार्य गर्न थालिए पनि ठूलो खर्च लाग्ने बताए ।

गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदैआएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ । ताराखोला–१ पूरै र सिले र अर्गलको केही भाग बाहेक अन्य स्थान अन्धकार भएको छ । बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पुर्याएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो बगाएको छ ।

रासस