कोरोना भन्दा समाज जित्न गाह्रो भो

२८, भाद्र, काठमाण्डौ । उदयपुरको त्रियुगा नगरपालिका वाड नं ३, भूल्केका पहिलो कोरोना सङ्क्रमित १९ वर्षीय इमरान अहमदको दैनिकी अहिले सामान्य भइसकेको छ । विगतमा जस्तै अहिले पनि उनी आफ्नो खेतबारीको काममा नियमित रुपमै सक्रिय छन् ।

इमरानसँगै सङ्क्रमित भएका उनकै छिमेकी २१ वर्षीय वर्पेस आलमको मनबाट पनि विस्तारै पुरानो डर त्रास हराउँदै गएको
छ । गाउँको जनजीवन सामान्य हुँदै गएसँगै विगतका डर त्रास पनि हराउँदै गएका हुन् ।

‘सुरुमा कोरोना भाइरस लाग्यो भनेर थाहा पाउँदा त अहिले यस्तो अवस्थामा फर्किन पाइन्छ जस्तो लागेको थिएन’– सङ्क्रमण पछिको आफ्नो अनुभव सुनाउँदै आलमले भने ।

कारोना भाइरसका पूर्व सङ्क्रमित इमरान र वर्पेसको मात्र होइन, नेपालमै पहिलोपटक समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भुल्केको जनजीवन पुरानै अवस्थामा फर्किएको छ ।

वैशाखको पहिलो साता भुल्केको नुरी मस्जिदमा बस्दै आएका १२ जना जमातीसहित समुदायका दुई जनामा पहिलोपल्ट कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा सिङ्गो गाउँ नै अछूत जस्तो भएको थियो ।

तरकारी उत्पादनमा निर्भर उक्त गाउँमा उत्पादित तरकारी र दूधसमेत बजारमा बिक्री भएन । “नजिकमा देख्दा र फोन गर्दासमेत सङ्क्रमित क्षेत्रको भनेपछि कोेही बोल्न चाहँदैन थिए तर अहिले त्यो स्थिति छैन । सबै कुरा सहज भएको

छ”– स्थानीय अनिश मियाले भने ।

मुखले सहानुभूति, व्यवहारले हिंसा

विराटनगर महानगरपालिका वडा नंं. १० का ५० वर्षीय भोला भट्टराईले सञ्चालनमा ल्याएको चिया–नास्ता पसल ३० वर्षपछि पहिलोपटक ३० दिन बन्द भयो । भोला चिया–नास्ता पसलका सञ्चालक भट्टराई आफै र परिवारका सदस्यहरु नै कोरोना भाइरस सङ्क्रमित भएपछि पसल नै बन्द गर्नुपरेको थियो ।

विराटनगरको मुख्य बजार क्षेत्र ट्राफिक चोकमा रहेको उक्त पसल एक साता अघिदेखि फेरि खुलेको छ । तर पहिले जस्तो अहिले चिया–नास्ता खाने ग्राहक भने त्यहाँ जाँदैनन् । सङ्क्रमणपछि पनि कसैले विभेद गरेको अनुभव नभएको बताउने भट्टराई पसलमा आउने ग्राहक विस्तारै बढ्दै जाने अपेक्षा गर्नुहुन्छ ।

विराटनगर–५ का चुडामणि आचार्यलाई पनि सङ्क्रमित भएपछि छिमेकीले गर्ने व्यवहारमा परिवर्तन आएको जस्तो महशुस भएको बताउँछन् । ‘मुखले बोलेर त हैन तर व्यवहारमा देखिइरहेको छ, आउनैपर्ने छिमेकीले पनि अहिले वास्ता नगरेको जस्तो लाग्छ’– प्रदेश १ सरकारका प्रमुख न्यायाधिवक्तासमेत रहेका आचार्यले भने । सङ्क्रमणमुक्त भएपछि आफू दैनिक काममा फर्किसकेको भए पनि सार्वजनिक उपस्थिति र सामाजिक भेटघाट तथा भेलामा सरिक नभएको उनले बताए ।

‘विश्वव्यापी यो महामारीको बेला समाजमा जो कोही पनि सङ्क्रमित हुन सक्छ, सामाजिक रुपमा हेर्ने दृष्टिकोण फेरिनु पर्दछ’– आचार्यले भने ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसविरुद्ध कठिन सङ्घर्ष गरेका विराटनगरका अग्रज पत्रकार मोहन भण्डारीलाई सङ्क्रमणमुक्त भएपछि खासै असजिलो महशुस भएको छैन । सामाजिक रुपमा हात मिलाउने प्रचलन हटेकाले मान्नुपर्नेहरुले सहजै नमस्कार अभिवादन गर्ने गरेको उनको भनाइ छ ।

सङक्रमित भएको अवस्थामा लक्षण अनुसारको सतर्कता जरुरी रहेको बताउँदै आत्मबललाई गिराउन नहुने उनको सुझाव छ ।

कोरोना सङ्क्रमण जितेर घर फर्किएकी झापाको दमक नगरपालिका वडा नं ५ की ४३ वर्षीय तुलसा खत्रीको अनुभव पनि निकै तीतो छ ।

निकै ठूलो डर र त्रासलाई पार गर्दै कोरानालाई जितेर घर फर्किए पनि समाजलाई जित्न निकै कठिन भएको उनको अनुभव छ । ‘रोगलाई जितेर गाउँ फर्किँदा छरछिमेकी नै बोल्न डराएको देख्दा समाजमा हिँडडुल गर्न नै कठिन भयो’– खत्रीले भनिन् ।

आजकोगोरखापत्र दैनिकमा समाचार छ ।