पेश्की माग्दा शरीर माग्ने लेखमा प्रमुख पक्राउ

२५ भदौ, पोखरा । मान्छे कति निर्दयी र राक्षेसी हुन्छन् भन्ने प्रमाण धेरै बाहिर आइसकेका छन् । यस्तै घटना हालै मात्र पोखरामा भएको छ । एक महिलाले आफ्नो् श्रीमानको दुर्घटनामा ज्यान गएपछि श्रीमतीले पोखराको हिमालयन आँखा अस्पतालमा जागिर खान
पुगिन ।

एक त आर्थिक अवस्था कमजोर भएको र त्यसमा पनि एकल महिला ती महिलामाथि सोही अस्पतालका लेखा प्रमुखको आँखा लाग्यो । आर्थिक अभाव हुँदा अस्पतालको लेखा शाखामा ती महिलाले पेश्की माग्थिन् तर प्रमुखले अनेक सर्त राख्न थाले ।

यौन इच्छा पूरा गर्न दिए अस्पतालबाट पेश्की मिलाइदिने भन्दै डर धम्कीमात्रै देखाएनन्, कोठामै पुगेर अभद्र व्यवहार गर्न लागेको ती महिलाको आरोप छ । आर्थिक हिसाबले कमजोर ती महिलाको लेखा प्रमुखका अघि केही जोर चलेन । यस्तै घटना ४–५ वर्ष चलिरहेको ती महिलाको आरोप छ ।

अति भएपछि गत शुक्रबार ती महिलाले अस्पताल प्रशासनमा उजुरी दिइन् । अस्पतालका लेखा प्रमुखले डर, धम्की, प्रलोभन देखाएर यौन शोषण गरेको र घटना बाहिर ल्याए जागिर नै खाइदिने बताएको महिलाको आरोप थियो ।

अस्पताल प्रशासनले लेखा प्रमुखलाई तत्काल निलम्वन गर्यो र अनुसन्धानको प्रक्रिया अगाडि बढायो । अस्पतालले मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो । समितिले छानबिन गरी दोषी उपर कारबाही गर्ने र सत्यतथ्य बाहिर ल्याउने अस्पतालले बताएको थियो ।

यसैबीच प्रहरीमा जाहेरी नदिन दबाब दिइएको र भित्रभित्रै मिलापत्र गराउन खोजिएको घटना सार्वजनिक भयो ।

जब यो घटना बाहिर आयो, लेखा प्रमुखबाट यस्तै शोषणमा परेको भन्ने अरु महिला पनि थपिए । ३१ र ३७ वर्षीया महिलालाई बलात्कार आरोपमा प्रहरीमा जाहेरी नै
पर्यो । अस्पतालबाट पेश्की माग्दा लेखा प्रमुख सुवेदीले अनेक बहाना बनाएर यौन शोषण गरेको महिलाहरुको आरोप छ ।

‘पेश्की माग्न जाँदा शरिर माग्थे, घरमै आएर मनपरी गरे । घटना बाहिर ल्याए जागिरै खाने धम्की दिन थाले,’ पीडित महिलाले भनिन्, ‘यसरी ४–५ वर्षसम्म शोषण
गरिरहे । अति भएपछि उजुरी गरेकी हुँ । अझै पनि केही हुने हो कि मनमा डर छ ।’

दुई महिलाले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले आरोपी लेखा प्रमुखलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । ‘पक्राउ गरी अनुसन्धान अगाडि बढाएका छौं,’ कास्की प्रहरी प्रवक्ता सुवास हमालले भने, ‘महिलाको मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढ्ने बताइएको छ ।