कोरोना संक्रमणका कारणले आज ९ जनाको मृत्यु

२३ भदौ, काठमाडौं । कोरोना भाइरसकोे संक्रमणबाट आज थप ९ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंमा दुई, कपिलवस्तु, बाँके, अर्घाखाँची, कास्की, बारा, चितवन र सुनसरीमा एक–एक जनाको मृत्यु भएको छ ।

बूढानीलकण्ठ, काठमाडौंका ८५ बर्षीय पुरुषको ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । भदौ १७ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको त्यही दिन पुष्टि भएको थियो । उनी मुटुसम्बन्धी रोगबाट समेत पीडित थिए ।

महाबौद्व, काठमाडौंकी ८० बर्षीया महिलाको ग्राण्डी अस्पतालमै मृत्यु भएको छ । ज्वरो, श्वास प्रस्वासमा समस्या लगायतको समस्या लिएर भदौ ३ गते अस्पताल भर्ना भएकी उनी मृगौला सम्बन्धी रोगबाट समेत पीडित थिइन् ।

सोमबार मृत्यु भएका तौलिहवा, कपिलवस्तुका ६२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पु¥याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी नेपालगञ्ज उपमहानगरपालिका–१६, बाँकेकी ८० बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मधुमेह र उच्च रक्तचापको बिरामी उनी स्वास्थ्यमा समस्या आएपछि २१ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।

सीतगंगा नगरपालिका–१२, अर्घाखाँचीका ४२ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१०, कास्कीकी ७३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । स्वास्थ्य समस्या देखिएपछि मेडिप्लस अस्पतालमा भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रतिष्ठानमा सारिएको थियो ।

महागढीमाई नगरपालिका–१०, बाराका ६० बर्षीय पुरुषको कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा मृत्यु भएको छ । १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनमा मधुमेहलगायतका रोग पनि थियो ।

देवचुली नगरपालिका–१, नवलपुरका ६४ बर्षीय पुरुषको भरतपुर अस्पताल, चितवनमा मृत्यु भएको छ । मृगौलामा समस्या देखिएपछि डायलासिस गराउँदै आएका उनी खोेकी र स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

कोरोना संक्रमित सनसरीका ७० बर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।