आज देशभरमा ९०२ जनामा कोरोना भाइरस संक्रमण

२३ भदौ, काठमाडौं । देशभरमा ९०२ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ३०७ महिला र ५९५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । त्यसमा ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकाका थप ३९६ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् । काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कैलालीका ७७ जना, मोरङका ५१, सुनसरीका ३८, धनुषाका ३३, कास्कीका ३०, मकवानपुरका २४, रुपन्देहीका २१, चितवनका २०, सप्तरी, गोरखा र सुर्खेतका १८–१८ जना, झापाका १६, पर्साका १४, ओखलढुंगाका १३, बाराका १२, बाग्लुङका १० र कञ्चनपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट, धादिङ र रामेछापका ८–८ जना, नवलपुर र बर्दियाका ७–७ जना, सर्लाहीका ६, बाँकेका ५, महोत्तरी र सिराहाका ४–४ जना, नुवाकोट, तनहुँ र दाङका ३–३ जना, उदयपुर, काभ्रे, दोलखा र लमजुङका २–२ जना तथा इलाम, सिन्धुपाल्चोक, पर्वत, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, रोल्पा र दैलेखका १–१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।