कोरोना संक्रमिणका कारण आज थप ११ जनाको मृत्यु भएको पुष्टि

२२ भाद्र, काठमाडौं । आज सोमबार कोरोना भाइरसका कारढा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३, सिराहाका २ तथा मकवानपुर, दोलखा, पर्सा, बाँके, मोरङ र कास्कीका एकरएक जनाको मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर, काठमाडौंकी ३७ बर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको
छ । उच्च रक्तचाप, मृगौला तथा हाइपोथेइरोडिजमको समस्या भभएर १४ गते अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको १६ गते पुष्टि भएको थियो । उनको २१ गते मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका–२७ असन, काठमाडौंकी ८३ बर्षीया महिलाको होम आइसोलेसनमै मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको २० गते पुष्टि भएको थियो ।

काठमाडौं–२५, काठमाडौंकी ९० बर्षीया महिलाको सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएर भदौ २० गते वीर अस्पताल भर्ना भएकी उनलाई कोरोना पुष्टि भएपछि बलम्बु लगिएको थियो ।

मिर्चैया नगरपालिका–५, सिराहाका ६२ वर्षीय पुरुषको प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार अस्पताल भर्ना गरिएका उनलाई कोरोना संक्रमण भएको साँझ पुष्टि भएको थियो । उनको आकस्मिक कक्षमा उपचारकै क्रममा मृत्यु भएको छ ।

गोलबजार नगरपालिका– ३ सिराहाका ७७ बर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि १६ गते अस्पताल भर्ना भएका उनी क्षयरोगका बिरामीसमेत थिए ।

मकवानपुरका ३९ बर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको छ । मृगौला, मधुमेह तथा उच्च रक्तचापका विरामी उनी १९ गते अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण भएको त्यही दिन पुष्टि भएको थियो ।

गौरीशंकर गाउँपालिका–५, दोलखाका ६९ बर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । कलेजो तथा मृगौला रोगका बिरामी उनलाई भदौ १९ गते वीर अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका–३०, पर्साका ५४ बर्षीय पुरुषको कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट पीडित उनी कोरोना संक्रमण पुष्टि भएपछि १५ गते अस्पताल भर्ना भएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका–९, बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । १५ गते कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म होटलको आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा समस्या आएपछि १८ गते अस्पताल भर्ना भएका थिए । उनमा मुटुसम्बन्धी रोग पनि थियो ।

विराटनगर महानगरपालिका– १०, मोरङका का ७६ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । ११ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा समस्या भएपछि शनिबार राति अस्पताल पुगेका थिए । उनी उच्च रक्तचापबाट पनि पीडित थिए ।

कास्कीका ६३ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।