९८० कोरोना भाइरसका संक्रमिण थपिदा १० जनाको मृत्यु

२१ भाद्र, काठमाण्डौ ।  आज देशभरमा ९८० जना कोरोना भाइरसका संक्रमिण थपिएका छन् । देशभरीका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३५४ जना संक्रमित थपिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोनामुक्त भएका छन् ।

आजै १८१४ जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका संक्रमिण थपिने क्रमसँगै संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौंका ३ जना, मोरङका २ जना र झापा, गोरखा, चितवन, धनुषा र सर्लाहीका एक–एक जनाको मृत्यु भएको छ ।

बूढानीलकण्ठ नगरपालिका–९, काठमाडौंका ८५ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको छ । श्वास प्रश्वासको समस्या दिएर भदौ २० गते भर्ना भएका उनी दम, मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

तारकेश्वर नगरपालिका–८, काठमाडौंका ७४ ववर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । मुटु र मिर्गौलाका बिरामी उनी भदौ १९ गते अस्पताल भर्ना भएका थिए र २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

डल्लु, काठमाडौंका ६८ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित उनले १७ गते स्वाब दिएका थिए र २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको त्यही दिन मृत्यु भएको हो ।

शनिबार साँझ मृत्यु भएका बिराटनगर महानगरपालिका–२, मोरङका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार साँझ कोशी अस्पताल लगिएको थियो । अस्तालमा पुग्दा उनको मृत्यु भइसकेको थियो ।

विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बुढीगंगा गाउँपालिका– ४, मोरङका का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मधुमेह र उच्च रक्तचापका बिरामी उनी तीन दिनअघि अस्पताल भर्ना भएका थिए र आइतबार मृत्यु भएको थियो । मृत्युपछि कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको छ ।

कन्काई नगरपालिका–२, झापाकी ४५ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पताल भर्ना भएकी उनलाई १८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

गोरखा अस्पतालमा मृत्यु भएकी गोरखा नगरपालिका–७, गोरखाकी ७५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मष्तिस्कघातकी बिरामी उनलाई शनिबार दिउँसो अचेत अवस्थामा अस्पताल भर्ना गरिएको थियो र, साँझ मृत्यु भएको थियो ।

भरतपुर महानगरपालिका–१५, चितवनका ७० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मिर्गौलामा समस्या भएपछि डायलासिस गराउँदै आएका उनको श्वासप्रश्वासमा समस्या लिएर १२ भदौमा अस्पताल भर्ना भएका थिए ।

धनुषाका ३५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चक्रघट्टा गाउँपालिका–३, सर्लाहीका ३५ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको छ । ज्वरो, स्वास प्रश्वासमा समस्य लिएर ३ भदौमा अस्पताल भर्ना भएका उनीमा कडा खालको कोभिड निमोनिया देखिएको थियो ।