पौडेल पक्ष देउवासँग झनै रुष्ट

२१ भाद्र, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनको काम नरोकेपछि असन्तुष्ट पक्ष थप रुष्ट बनेको छ । सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा करिब १ सय सदस्य मनोनयन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित बनेको हो ।

पौडेल समूहले सभापतिका निर्णय फिर्ता गराउन दबाब दिने कार्यक्रम तय गर्न शनिबार आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएको छ । ती निर्णय खारेज गर्न सशक्त प्रतिरोधमा उत्रिनुपर्ने आवाज पौडेल समूहमा उठेको छ ।

‘तत्कालीन सभापति सुशील कोइरालाले तीन–साढे तीन वर्षमा विभाग गठन गर्दा उहाँ (देउवा) ले तीव्र विरोध गर्नुभएको थियो। त्यतिबेला उहाँले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिएर अनशन र सत्याग्रहमा बस्ने चेतावनी दिएपछि निर्णय फिर्ता भएको थियो’, केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘उहाँ अहिले आफंैले स्थापित गरेको मान्यताविपरीत निर्णय गर्दै जानुभएको छ । हामी पनि उहाँले हिजो अवलम्बन गरेको बाटोमा जान बाध्य हुन्छौं ।’

विभाग गठनप्रति सुरुदेखि नै असन्तुष्ट बनेको पौडेल समूहले देउवालाई विरोधपत्र बुझाएको थियो । पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गरी असन्तुष्टि जनाएको थियो । त्यसपछि पनि देउवाले विभाग गठनलाई निरन्तरता दिएपछि पौडेल समूह राजीनामादेखि धर्नासम्म दिनुपर्ने निष्कर्षमा पुगेको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।