देउवाको एकलौटी निर्णय विरुद्ध अनसन र धर्ना बस्ने पौडेल पक्षको तयारी

२० भाद्र, काठमाडौं । प्रतिपक्ष काँग्रेसमा पनि किचलो हुँदै आएको छ । पछिल्लो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बोलाएको छ ।

केन्द्रीय सदस्यहरुको जुम मिटिङबाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले आजको छलफलमा दबाबमुलक कार्यक्रम गर्नेबारे छलफल हुने बताए । ‘विधिको उल्लंघन गरेकाले सुरुमा निर्णय सच्याउन अल्टिमेटम दिने, निर्णय नसच्चिए धर्ना र अनशन बस्नेसम्मको तयारी गरिएको बताए ।

सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेका थिए । देउवाले हालसम्म २० वटा विभागमा करिब ९ सय नेता, कार्यकर्ताहरुलाई मनोनयन गरेका छन् । यी मनोनयन एकलौटी भएको भन्दै पौडेल पक्षले विरोध गर्दै आएको छ ।