२० भाद्र, काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो ।
हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।
प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।
शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले बताएका छन् ।
हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ ।
ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार हत्याको कारणबारे अनुसन्धान भइरहेको छ ।