मेस्सीले तत्काल बार्सिलोना क्लब नछाड्ने

एजेन्सी

२० भाद्र, काठमाडौं । पछिल्लो समयमा बार्सिलोनाका कीर्तिमानी फरवार्ड लिओनल मेसीले बार्सिलोना छाड्ने चर्चा चले पनि अब उनले तत्काल क्लब नछाड्ने बताएका छन् ।

मेसीले बार्सिलोनाले जारी गरेको रिलिज क्लज तिर्न अन्य क्लबका लागि सम्भव नहुने तथा आफूलाई मुद्दा लड्ने चाहना नभएकाले क्लबमै बस्ने बताएका हुन् ।

३३ वर्षीय मेसीले गएको साता आफूले क्लबसँगको करिअर टुंग्याउन चाहेको बताएका थिए भने रिलिज क्लजको सर्त हटाउन बार्सिलोनालाई आग्रह गरेका थिए ।

तर बार्सिलोना मेसीको ७ सय मिलियन युरोको रिलिज क्लज हटाउन तयार नभएपछि मेसीले क्लबमै बस्ने बताएका हुन् ।

तर मेसीले आफू क्लब छाड्न स्वतन्त्र रहेको बताएका छन् ।

’मलाई लाग्छ म क्लब छाड्न स्वतन्त्र छु,’ मेसीले गोलसँग कुरा गर्दै भनेका छन्,’अध्यक्षले मैले सिजनको अन्त्यमा क्लब छाड्ने वा बस्ने विषयमा निर्णय लिन सक्ने बताउँदै आएका थिए । अब म क्लबसँगै रहने छु । किनभने क्लब छाड्न ७ मिलियन युरोको रिलिज क्लज पूरा गर्नु पर्ने अध्यक्षको भनाइ छ । जुन असम्भव छ ।’

मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए । सो सम्झौतामा चार वटै सिजनको अन्त्यमा चाहेको अवस्थामा क्लब छाड्न सक्ने बुँदा उल्लेख रहेको मेसीका वकिलको दाबी छ ।

बार्सिलोनाले भने सिजनको अन्त्य जुन मध्यमा हुने भएकाले सो बुँदाको कानुनी आधार सकिएको बताउँदै गएको छ । कानुनी आधार सकिएको अवस्थामा मेसीलाई भित्र्याउन चाहने क्लबले ७ सय मिलियन युरो तिर्नु पर्ने भन्दै बार्सिलोनाले रिलिज क्लजको शर्त राखेको हो ।

तर मेसीका वकिलले भने कोरोना भाइरसका कारण यो सिजनको अन्त्य अगस्टमा भएको दाबी गरेका छन् । त्यसैले मेसीले अहिले क्लब छाड्न सक्ने उचित समय रहेको मेसीका वकिलको दाबी छ ।

मैले १० जुनअघि क्लब छाड्ने कुरा क्लबलाई भन्न सकिन । किनभने त्यतिबेला ला लिगा सकिएको थिएन । कोरोना भाइरसका कारण ला लिगा बीचमै रोकिएको थियो,’ मेसीको भनाइ छ,’क्लब छाड्न मसँग मुद्दा लाड्ने विकल्प छ । तर बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन । किनभने बार्सिलोना मलाई सबैभन्दा मन पर्ने क्लब हो । किनभने यसले मलाई सबैथोक दियो । यहि क्लवमा मैले जीवन बिताए । मैले आफ्नो जीवन पनि यहि बनाए । त्यसैले बार्सिलोनाविरुद्ध अदालत जाने कुरा सोच्न सक्दिन ।’

मेसीले आफूले बार्सिलोना छाड्न चाहेको बताउँदा श्रीमती र छोराहरु दुखी भएको बताए । उनले भने, ’मैले बार्सिलोना छाड्छु भन्दा सबै परिवार रोएका थिएन । किनभने उनीहरु बार्सिलोना छाड्न
चाहदैनन् ।

बार्सिलोना नबस्ने मनस्थिति बनाएपछि मेसीले आइतबार अभ्यास सत्र सुरू हुनुअघि गरिने कोरोना भाइरसको परीक्षण गराउन समेत अस्विकार गरेका थिए । यो घटनापछि मेसी बार्सिलोनासँगको करिअर अन्त्य गर्न चाहेको प्रष्ट हुन्छ । तर क्लबको अडान पछि मेसी नचाहेर पनि बार्सिलोना बस्नु पर्ने भएको छ ।

मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १६ वर्ष पूरा भइसकेको छ ।

मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका
थिए ।

त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन् । मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६३४ गोल गरेका छन् । उनले बार्सिलोनामा रहदा ३४ उपाधि जिते । जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन् ।

ला लिगाका सर्वाधिक गोलकर्ता मेसीले ४४४ लिग गोल गरिसकेका छन् । मेसीले सन् २०१२ को एकै सिजनमा क्लबका लागि सर्वाधिक ७९ गोल गरेर रेकर्ड बनाएका थिए ।