१८ भदौ, काठमाडौं । आज देशभरमा कोरोना भाइरसको संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । चितवन, रुपन्देही र सप्तरीका २–२ जना तथा भक्तपुर, सिन्धुपाल्चोक, नवलपरासी, प्युठान, कास्की र तनहुँमा एक–एक जनाको मृत्यु भएको हो ।
मर्नेहरुमा भरतपुर महानगरपालिका–११, चितवनकी ४० बर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । झाडापखाला, खोकी तथा छातीमा समस्या भएर ६ गते अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो ।
राप्ती नगरपालिका–९, चितवनकी ६५ वर्षीया महिलाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । मिर्गौलामा समस्या भएपछि डायलासिस गराउँदै आएकी उनी खोकी र श्वासप्रश्वासको समस्या लिएर १४ भदौमा अस्पताल भर्ना भएकी थिइन् । बुधबार कोरोना संक्रमण पुष्टि भएकी उनको भोलिपल्ट मृत्यु भएको छ ।
सैनामैना नगरपालिका–११, रुपन्देहीकी ७७ बर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएर बुधबार अस्पताल भर्ना भएकी उनलाई त्यही दिन साँझ संक्रमण पुष्टि भएको थियो ।
बुधबार दिउँसो मृत्यु भएका बुटवल उपमहानगरपालिका–७, रुपन्देहीकी ४५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । चार दिनदेखि ज्वरो आउनुका साथै स्वास प्रश्वासमा समस्या भएपछि बुधबार दिउँसो अस्पतालमा पुगेकी उनको साँझ मृत्यु भएको थियो ।
राजविराज नगरपालिका–७, सप्तरीका ५० बर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । बिहीबार दिउँसो अस्पताल पुगेको उनको केहीबेरमै मृत्यु भएको थियो । मधुमेहका विरामी समेत रहेका उनलाई चार दिनदेख ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समेत समस्या देखिएको थियो ।
राजविराज–७ कै, सप्तरीका ५५ बर्षीय पुरुषको पनि मृत्यु भएको छ । मधुमेह र उच्च रत्तचापका विरामी उनी छिन्नमस्ता अस्पतालको रिफरमा ७ भदौमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका थिए ।
मध्यपुर थिमी नगरपालिका–६, भक्तपुरका ४० बर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । मृगौलासम्बन्धी समस्या भई ब्लूक्रस अस्पतालमा उपचाररत उनलाई कोरोना संक्रमण भएको भदौ ५ गते पुष्टि भएको थियो । त्यसपछि पाटन लगिएको हो ।
ईन्द्रावती गाउँपालिका–६ सिन्धुपाल्चोकका ७७ बर्षीय पुरुषको वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ । दम तथा क्षयरोगका बिरामी उनलाई भदौ ५ गते अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण भएको १२ गते पुष्टि भएको थियो ।
गैंडाकोट नगरपालिका–२ नवलपुरका ३७ बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । ९ भदौमा अस्पताल भर्ना भएका उनलाई १० गते संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।
स्वर्गद्वारी नगरपालिका–७, प्युठानका ५८ बर्षीय पुरुषको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा मृत्यु भएको छ । १० भदौमा अस्पताल भर्ना भएका उनलाई १६ गते संक्रमण पुष्टि भएको थियो । उनी कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।
पोखरा महानगरपालिका–६, कास्कीका ३७ बर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । संक्रामक तथा सरुवा रोग अस्पतालबाट बिहीबार रिफर भएर आएका उनको आईसीयूमा उपचारका क्रममा साँझ ५ः५० बजे मृत्यु भएको हो ।
म्यादे गाउँपालिका–१, तनहुँकी ९२ बर्षीया महिलाको सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । दम, मुटु तथा मिर्गौला सम्बन्धी समस्याले उपचाररत उनलाई कोरोना संक्रमण पनि भएको थियो ।