प्रधानमन्त्री केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीचको बार्ता बिना निष्कर्ष सकियो

१७ भदौ, काठमाडौं । भोलि बस्न लागेको नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले उपाध्यक्ष वामदेव गौतमसँग छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार साँझ भेट भए पनि छलफल सकारात्मक हुन नसकेको स्रोतको दाबी छ ।

भेटमा उपाध्यक्ष गौतमले राष्ट्रियसभामा जान पाउनुपर्ने अडान कायमै राखेका छन् भने प्रधानमन्त्री ओलीले भने अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभा सदस्य बनाउन चाहेका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले गौतमलाई प्रतिनिधिसभाको उमेदवार बन्न आग्रह गरेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच झण्डै एक घण्टा कुराकानी भएको भए पनि नयाँ समझदारी हुन नसकेको स्रोतले बताएको छ ।

गौतमसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।

दुई अध्यक्षको भेटमा पनि राष्ट्रियसभा सदस्यबारे टुंगो लाग्न नसकी अलि पेचिलो बनेको बुझिएको छ ।

उनीहरूबीच सबै विषयमा सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।

यस अघि बामदेव गौतमले अर्का अध्यक्ष प्रचण्ड निवास खुमालटार पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।