करचुक्दा प्रमाणपत्रको आधिकारिता अब कम्प्युटरको माध्यमबाट हेर्न सकिने

१६ भाद्र, काठमाडौं । करदता सेवा कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् ।

आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए(नपाएको हेर्न सकिने गरी प्रणाली विकास गरिएको हो ।

पछिल्लो समय विभागले कर बुझाउन कर कार्यालयमै धाउनु पर्ने बध्यता हटाउँदै बैंक वा विद्युतीय भुक्तानीका माध्यमबाट समेत कर तिर्न सकिने प्रणालीको विकास गरेको थियो ।

सोही अनुसार करदाताले कर तिरिसकेपछि आफैं करचुक्ता प्रमाणपत्र डाउनलोडसमेत गर्न सक्छन् । सोही प्रमाणपत्रको आधिकारिकता जाँच वेबपोर्टलबाट गर्न सकिने भएको छ ।

विभागले प्रारम्भमा साना करदाताका लागि विद्युतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र समेत जारी हुने गरी प्रणाली बनाएको हो । यसका लागि विभागको एकीकृत कर प्रणालीमा विद्युतीय कर चुक्ता प्रमाणपत्र माग गर्न सकिने गरी प्रणाली बनाइएको छ ।

प्रणालीले स्वतः आय विवरण र कर बक्यौता भए नभएको सुनिश्चित गरी बक्यौता नभएमा कर चुक्ता प्रमाणपत्र जारी गर्ने भएको छ । यो पनि स्वचालित प्रणालिमा आधारित बनाइएको छ ।

भ्याट तिर्नेको बायोम्याट्रिक

यता, विभागले मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताको विवरण बायोम्याट्रिक प्रणालीमा अध्यावधिक गर्ने भएको छ । सो प्रयोजनका लागि सम्बन्धित कर कार्यालयमा पुगेर आफ्नो विवरण अध्यावधिक गराउन विभागले करदातालाई आहृवान समेत गरेको छ ।

विभागका अनुसार २०७८ असार मसान्तसम्म भ्याटमा दर्ता भएका करदाताको विवरण बायोम्याट्रिक प्रणालीमा अध्यावधिक गर्ने लक्ष्य राखिएको छ ।

अन्तःशुल्कका करदाताले ब्राण्ड रजिष्ट्रेसन गर्नुपर्ने

अन्तःशूल्क बुझाउने दायित्व भएका करदाताले अब अनिवार्य आफ्नो ब्राण्ड रजिष्ट्रेशन गर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार अन्तःशुल्कको मासिक विवरण बुझाउनुपूर्व अनिवार्य आफ्नो उत्पादनको ब्राण्ड रजिष्टे्रशन गर्नुपर्ने भएको हो । सुर्तिजज्य, मदिराजज्यलगायत वस्तुको उत्पादकले अन्तःशुल्क बुझाउनु पर्छ ।

यस्ता उत्पादकले विभागको वेवसाइटमा रहेको ट्याक्सपेयर पोर्टलभित्र एक्साइज मेनुभित्र राखिएको ब्राण्ड रजिष्ट्रेसनमा गएर ब्राण्ड अपलोड गर्न सकिने गरी प्रणाली बनाइएको विभागले जनाएको छ ।

यसरी अपलोड गरिएको ब्राण्डलाई सम्बन्धित आन्तरिक राजस्व कार्यालयरकरदाता सेवा कार्यालयमा गई सुनिश्चित गर्न सकिने भएको छ ।

सुर्तिजन्य र मदिराजन्य बाहेक अन्य वस्तुको उत्पादकले अन्तःशुल्क विवरण भर्दा नै तयारी वस्तुको विवरणसँगै एक पटकका लागि सम्बन्धित कार्यालयबाट ब्राण्ड भेरिफाई गराउन सक्ने भएका छन् ।