लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने

१४ भाद्र, काठमाण्डौ । अहिले साँझ बसेको मन्त्रिपरिषदको बसेको बैठकले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । यस अघि भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको हो ।

अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ । सरकारले दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायले यसलाई बढाउनु पर्ने धारणा राखेको र त्यसमा सैद्धान्तिक सहमति दिइएको छ । अब कुनै कम्पनीले पीसीआर टेष्ट, होटल क्वारेन्टिनसहित सबै खर्च व्यहोर्ने गरी नेपाली कामदारलाई नेपाल पठाउन चाहन्छ भने ५०० को कोटा भन्दा बाहिर पनि ल्याउन दिइनेछ ।

यस्तै स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको एक मन्त्रीले बताएका छन् ।

साथै विदेशी कामदार लिने निर्णय गरेका मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय समेत भएको छ । मन्त्रिपरिषद्को बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूत समेत नियुक्त गरेको छ ।