कोरोना भाइरसको संक्रमणका कारण आज ११ जनाको मृत्यु

१४ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण आज आइतबार ११ जनाको मृत्यु भएको छ । भक्तपुर, रुपन्देही र सुनसरीमा २–२ जना तथा काठमाडौं, ललितपुर, चितवन, सप्तरी र रौतहटमा एक–एक जनाको मृत्यु भएको छ । सुनसरी, धरान १७ का मृतक आमाछोरा हुन् ।

हिजो शनिबार एक दिनमा सबैभन्दा धेरै २० जनाको मृत्यु पुष्टि भएको थियो ।

ताहचल, काठमाडौंकी ७२ वर्षीया महिलाको बयोधा अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप तथा हाइपोथेराडिमकी बिरामी उनलाई १३ गते संक्रमण पुष्टि भएको थियो ।

भक्तपुर–१ दुधपाटी, भक्तपुरका ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनलाई कोरोना संक्रमण भएको ९ भदौमा पुष्टि भएको थियो ।

मध्यपुर थिमी–१ लोकन्थली, भक्तपुरका ७५ वर्षीय पुरुषको समिट अस्पतालमा मृत्यु भएको छ । श्वास प्रश्वासको समस्या लिएर ११ भदौमा अस्पताल भर्ना भएका उनलाई संक्रमण भएको शनिबार पुष्टि भएको थियो । उनको आज आइतबार मृत्यु भएको हो ।
पाटन, ललितपुरका २९ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । उच्च रत्तचाप, मिर्गौला र रत्तअल्पताका बिरामी उनी साउन २८ मा अस्पचाल भर्ना भएका थिए र, त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
धरान–१७, सुनसरीकी ७४ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मधुमेह र रक्तचाप रोगबाट पीडित उनी ज्वरो आउने, खोकी लाग्नुका साथै श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी थिइन् ।
धरान–१७, सुनसरीका ६० वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचाप रोगबाट पीडित उनलाई कोरोना संक्रमण भएको आइतबार पुष्टि भएको थियो ।
भरतपुर–१०, चितवनका ५२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । ४ भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको ७ गते पुष्टि भएको थियो ।
 बुटवल–५ रुपन्देहीका ६७ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासम्बन्धी समस्या लिएर आइतबार विहान अस्पताल पुगेका उनको मध्यान्ह मृत्यु भएको थियो ।
रुपन्देहीका ५७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।

राजपुर, रौतहटका ४० वर्षीय कोरोना संक्रमितको आइतबार वीरगञ्जमा मृत्यु भएको छ । खोकी र श्वास प्रश्वासमा समस्या भएपछि १२ भदौमा नारायणी अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल गण्डकमा सारिएको थियो ।
राजविराज–२, सप्तरीकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनलाई संक्रमण भएको शनिबार पुष्टि भएको थियो । श्वास प्रश्वासमा थप समस्या भएपछि थप उपचारका लागि धरान लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् ।