प्रिमियर लिगको कम्युनिटी शिल्ड फुटबलको उपाधि आर्सनललाई

एजेन्सी

१४ भदौ, काठमाण्डौ । प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि खेलाइने कम्युनिटी शिल्ड फुटबलको उपाधि आर्सनलले जितेको छ ।

हिजो शनिवार वेम्बली स्टेडियममा भएको खेलमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।

आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । आर्सनल भन्दा धेरै म्यानचेष्टर युनाइटेडले २१ पटक उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा आर्सनलका पाँचै खेलाडीले गोल गरे । लण्डन क्लबका लागि रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एमरिक ओबामियाङले गोल गरेका थिए ।

प्रिमियर लिग र एएफ कपको विजेता बीच नयाँ सिजनअघि कम्युनिटी शिल्ड खेलाइन्छ । आर्सनल एफए कपको विजेता हो भने लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो ।