स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा सुत्केरी सहित चार घाइते

१४ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चार घाइते भएका छन् ।

वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको बा२झ ४०११ नंको एम्बुलेन्स आज बिहान ५ बजे सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एमबुलेन्स दुर्घटनाबाट घाइते हुनेहरुमा चापाकोट नगरपालिका–९ की २८ वर्षीया पवित्रा पोखरेल र ३५ वर्षीय भानुभक्त गैरे, चापाकोट–१० का २५ वर्षीय श्याम पङ्गेनी र एम्बुलेन्स चालक चापाकोट नगरपालिका–९ का ३१ वर्षीय सुरेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

घाइतेहरुको गह्रौँ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पवित्रा पोखरेल गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ । चालक भण्डारी बाहेक अरू सबै गम्भीर छन् ।