१२ भदौ, काठमाडौं । आज देशभरमा ९२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका छन् । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको
हो ।
यो सँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ भने २० हजार २२४ जना संक्रमणमुक्त भएका छन् । आजै १६९ जना निको भएर डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार देशभरमा १६ हजार १९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् ।
कहाँ कति थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४१५ जनामा संक्रमण पुष्टि भएका छन् । उनीहरुमध्ये काठमाडौं जिल्लामा मात्र ३५० जना छन् भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै रुपन्देहीका ७२ जना, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६–१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३–१३ जना, सिराहाका १२ र नवलपुर, दैलेख र कैलालीका ११–११ जनामा कोरोना संक्रमण देखिएको छ ।
डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४–४ जना, नुवाकोट र सल्यानका ३–३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २–२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १–१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।