ललितपुर र बिरगंज गरी थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु

११ भाद्र, काठमाडौँ । आज भोलि नेपालमा कोरोना भाइरसका संक्रमिण बढेसँगै सोही संक्रमणबाट मर्नेको संख्या पनि बढ्दो क्रममा ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक पुरुषको स्थायी घर अर्घाखाँची हो भने केही समयदेखि काठमाण्डौ बस्दै आएका थिए ।

त्यस्तै वीरगञ्जमा पनि थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भाद्र ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनिया समेत थियो । उनको उपचारका क्रममा भदौ १० गते साँझ ६ः२२ बजे निधन भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सार्न खोजिएको थियो । त्यही क्रममा उनको मृत्यु भयो ।

हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार
भएन । उपचारकै क्रममा भदौ ११ गते बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।