स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज

१० भदौ, काठमाण्डौ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) सँग सम्बन्धन लिएर सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ ।

आयोगको साउन ३० गते बसेको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो । यो निर्णय यसै शैक्षिक सत्रदेखि लागू हुनेछ ।

आयोगका उपाअध्यक्ष श्रीकृष्ण गिरीका अनुसार ऐनकै व्यवस्था अनुसार सीटीईभीटीले चलाउँदै आएको प्रमाणपत्र तहमुनिका स्वास्थ्य विषयका कार्यक्रममा यस वर्षदेखि भर्ना लिन नपाउने निर्णय गरिएको जानकारी दिए । चिकित्सा शिक्षा ऐन अनुसार नै हाम्रो छलफलले निर्णय गरेको हो ।

यो सँगै अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको पीसीएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना लिन नपाउने निर्णय भएको छ ।

२ वर्षअघि आएको चिकित्सा शिक्षा ऐनमा प्रमाण तहको स्वास्थ्य शिक्षालाई फेजआउट गर्दै जाने शब्द उल्लेख गरेर तोकिएअनुसार स्तरोन्नतिको व्यवस्था गरिएको थियो । ऐन आउने बेलामा नै यो विषयमा विवाद भएको थियो ।