यूरोपा लिग च्याम्पियनको उपाधि सेभियाको पोल्टामा

६ भाद्र, काठमाडौं । युइएफए युरोपा लिगको उपाधि स्पानिस क्लब सेभियाले छैटौं पटक जितेको छ ।

जर्मनीको कोलोनमा हिजो शुक्रबार राति भएको फाइनलमा सेभियाले इन्टर मिलानलाई ३–२ ले हराउँदै उपाधि चुम्पन सफल भएको हो । खेलमा लुक डे जोङको दुई गोल अनी रोमेलु लुकाकुको आत्मघाती गोल मद्दतमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै यो वर्षको युरोपा लिग च्याम्पियन बन्न सफल भएको हो ।

खेलको पाँचौ मिनेटमै लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । सेभियाका डिएगो कार्लोस्ले लुकाकुलाई फल गरेपछि त्यसैमा प्राप्त पेनाल्टीमा लुकाकुले गोल गरे । इन्टरको अग्रता लामो समयम टिकेन । १३औं मिनेटमा लुक डे जोङले सेभियाका लागि बराबरी गोल फर्काए । ३३औं मिनेटमा जोङले व्यक्तिगत दोस्रो गोल गर्दा सेभियाले २–१ को अग्रता बनायो । त्यसको दुई मिनेटपछि इन्टरका डिउगो गोडिनले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि खेल रोमाञ्चक बनेको थियो । पहिलो हाफ बराबरीमै सकियो ।

दोस्रो हाफमा सेभिया भाग्यमानी बन्यो । ७४औं मिनेटमा लुकाकुले गरेको आत्मघाती गोल नै सेभियालाई जिताउन निर्णायक बन्यो । सेभियाका डिएगो कार्लोसले प्रहार गरेको ओभरहेड किकलाई लुकाकुले आफ्नै पोष्टमा गोल गरे । त्यसपछि सेभियाले अग्रता बनाउँदै खेल जित्यो ।

लुकाकुले नै गोल गर्दै इन्टरलाई अग्रता दिलाएकोमा लुकाकुले विपक्षीको लागि पनि गोल गरेपछि ९ वर्षपछि पहिलो पटक उपाधि जित्ने इन्टरको सपना पूरा हुन सकेन । इन्टरले २०११ यता कुनै पनि उपाधि जित्न सकेको छैन ।

उता सेभियाले भने युइएफए कपरयुरोपा लिगको फाइनलमा कुनै पनि खेल हारेको छैन । अहिलेसम्म ६ पटक फाइनल पुग्दा सेभियाले ६ पटक नै उपाधि जितेको छ । सन् २००६ र २००७ मा लगातार उपाधि जितेको सेभियाले २०१४,२०१५ र २०१६ मा लगातार तीन पटक युरोपा लिग उपाधि जित्दै उपाधिमा ह्याट्रिक नै गरेको थियो ।