बैंकका कर्मचारीलाई पहरीले बाटोबाटै फिर्ता गरिंदा आज बैंक नखोल्न बैकर्स संघको निर्देशन

४ भदौ, काठमाडौं । काठमाण्डौ उपत्यकामा हिजो रातीबाट गरिएको निषेधाज्ञामा आजल बैकको डियूटीमा हिडेका कर्मचारीहरुलाई समेत प्रहरीले रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न भनिएको बताए । प्रहरीले हाम्रा कर्मचारीलाई दुःख दिए त्यसैले मैले आज बैंक नखोल्न भनेको छु ।

निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् । बैंकका सीईओलाई समेत बाटैमा रोकिएको बैंकर्सहरु बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले भने, ‘हिजो सीडीओसँग समन्वय गरी हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको थियो । बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकियो ।

तर ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने आफूहरुले माथिको आदेश बमोजिम काम गरिरहेको बताए । बैंकका सीईओलगायतको गुनासो आएपछि सहजीकरण गरिरहेको पनि उनले जानकारी दिए । एसएसपी ढकाले भने, ‘हामीले आदेश बमोजिम गर्ने हो । अस्पष्ट भएका केही विषयमा भए माथिल्लो निकायमा समन्वय गर्छौं उनले भने ।