३ भदौ, कैलाली । लगातार परेको पानीसँगै आएको बाढीले गर्दा अछामको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । यो सँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् ।
रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका करिब १६ घर बाढीले बगाएको छ । सैन बजार अहिले बगरमा परिणत भएको उपाध्यक्ष रावलले बताइन् । प्रहरीले भने यकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाने तयारीमा बुझिएको छ ।