काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष

२ भदौ, काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितहरूको संख्या बढ्न थालेपछि जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले राजधानी काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले यस्तो निष्कर्ष निकालेको हो । तर, यसको औपचारिक निर्णय भने केन्द्रस्तरीय सिसिएमसीको सिफारिसमा सरकारले मात्र गर्न सक्ने छ ।

बैठकमा सहभागी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले कम्तिमा एक साताका लागि काठमाडौंमा निषेधाज्ञा लगाउन सकिने राय सबै पक्षबाट पेश भएपछि यस्तो निष्कर्ष निकालिएको बताए ।

‘निषेधाज्ञा गर्नुपर्ने राय पेश भएको छ, जिल्लास्तरीय सुरक्षा समितिको निष्कर्षका आधारमा बाँकी निर्णय सरकारबाट के हुन्छ, आउन बाँकी छ ।

काठमाडौं प्रशासनका प्रवक्ता तुल्सीराम पौडेलले पनि बैठकले एक साता अत्यावश्यक सवारीसाधन, खाद्यान्न र औषधिजन्य पसल बाहेक अन्य सबैथोक बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्नुपर्ने विषयमा छलफल भएको बताए ।