भारतीय क्रिकेटर ध्वनीद्धारा अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास

एजेन्सी

३१ साउन, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।

यसअघि टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका विकेटकिपर ब्याट्सम्यान धोनीले अब एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय खेल पनि खेल्नेछैनन् ।

धोनीले आइपिएल भने खेल्नेछन् । चेन्नइ सुपरकिंग्सका कप्तान धोनी पछिल्लो समय आइपिएलको तयारीमा छन् ।

भारतीय क्रिकेट टिमका सफल कप्तान धोनीले भारतलाई सन् २००७ को टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जिताउँदा नेतृत्व गरेका थिए । उनले टेस्टमा पनि भारतलाई उत्कृष्ट टिम बनाएका थिए ।

सन् २००४ डिसेम्बरमा बंगलादेशविरुद्धको खेलमा डेब्यू गर्दै अन्तर्राष्ट्रिय करिअर सुरु गरेका धोनीले भारतका लागि ९० टेस्ट, ३५० एकदिवसीय र ९० टी–२० अन्तर्राष्ट्रिय खेल खेले ।

त्यसक्रममा उनले टेस्टमा ४८ सय रन, एकदिवसीयमा १० हजार रन र टी–२० मा १६ सय रन कटाए । उनले टेस्टमा ६ शतक र एकदिवसीय खेलमा १० शतक प्रहार गरे ।

विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश थिएनन् भने उनले बिसिसिआईसँगको सम्झौता पनि गुमाएका थिए । जसका कारण उनको करिअर संकटमा परेको थियो ।

उनले पछिल्लो एकदिवसीय खेल २०१९ विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए । टी–२० मा भने धोनीले पछिल्लो पटक २०१९ फेब्रुअरी अस्ट्रेलियाविरुद्ध खेलेका थिए ।

विश्वकपबाट फर्किएपछि धोनी राष्ट्रिय टिमबाट छुट्टी लिएर भारतीय सेनाको ड्युटीमा खटिएका थिए ।

त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिदै आएको थियो ।

भारतीय टिमका प्रशिक्षक रवि शास्त्रीले आइपिएलमा धोनीले राम्रो खेलेमा वर्षको अन्त्यमा हुने टी–२० विश्वकपमा खेलाउने बताएका थिए ।

तर कोरोना भाइरसका कारण आइपिएल पाँच महिना र टी–२० विश्वकप एक वर्ष सर्दा धोनीको करिअरलाई पनि असर ग¥यो ।