हुम्ला ताजाकोटका २३ घरधुरी पहिरोमा पुरिए १७० घर अझै उच्च जोखिममा

 स्थानीयबासीको बिचल्ली प्रदेश र संघ सरकार मौन

३१ साउन, काठमाडौं । आज बिहान करिब ३ बजेतिर हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका वडा नम्बर ३ मा लगातार १ महिना देखि परेको अविरल वर्षाका कारण करिब ३ सय घरबस्ती विस्थापित भएका छन । पहिरोबाट गाउँपालिकाको कार्यलयदेखि धर्माेदय मा. वि. का ५ वटा भवन, चन्द्रप्रकाश मा. वि. को भवन, २ ओटा नि. मा. वि., रामदेव नि.मा.वि. र जनप्रकाश नि.मा.वि. र ३ र ४ को वडा कार्यालय समेत सोही पहिरोले बगाएको र बाँकी रहेका संरचना समेत भत्काउनुका साथै १५ घर पूर्णरुपमा पहिरोले बगाएर लगेको जानकारी स्थानीयबासी मोहनलाल सुनारले कदर न्यूजलाई फोन मार्फत् जानकारी गराएका छन् । सुनारका अनुसार पहिरोका कारण करोडौको धनमाल क्षेतीका साथै स्थानीयले लगाएको खेती मकै, कोदो, धान, जनालो, फापर, कागुनो, जौ लगाएको खेती योग्य जमिन समेत पहिरोमा पुरिएको बताए । तर पहिरोबाट मानवीय क्षति भने भएको छ्रैन ।

पहिरोका कारण  उत्तेसेनी गाउँ समेत जोखिममा रहेको ३ नम्बर वडाका वडाध्यक्ष परिमल सुनारले बताएका छन् । उनका अनुसार साविक मैला गाबिसका १७० घरधुरी सबैभन्दा बढी जोखिममा रहेको त्यहाँस्थित स्थानीय सन्तोष सुनारले फोन मार्फत् कदर न्यूजलाई बताएका छन् । ताजाकोट स्थित छब्रेला बजारमा एक्कासी पहिरो खस्न गई प्राकृतिक विपत्ति हुँदा सो बजारमा सञ्चालित सम्पुर्ण पसल र घरहरु बगाउनुका साथै बचेका घर पसलहरु समेत क्षतिग्रस्त भएका छन् । घटना घटेपछि सर्वसाधारण उद्धारकार्यमा जुटिरहेको तर सो ठाउँमा अरु कुनै सरकारी निकाय, जिल्लास्थित विपत व्यवस्थापन समितिका पदाधिकारी र गाउँपालिकाको तर्फबाट एकाध पदाधिकारी मात्र पुगेको जानकारी स्थानीय मोहनलाल सुनारले कदर न्यूजलाई बताएका छन् । उनका अनुसार गाउँपालिका अध्यक्ष काठमाण्डौतिर रहेको र आफूहरु अहिले ३ वडाध्यक्ष परिमल सुनारको घरमा बसेको र कोही डाँडाडाँडामा र पाखाहरुका पाल र टेन्ट हालेर बिजोग अवस्थामा बसेको र अहिले पनि पहिरो जाने क्रम नरोकिएको उनले बताए । पहिरोबाट मानवीय क्षती नभए पनि पशुचौपाय, बर्खे सबै बालीनाली , बजार र घरहरु पूर्णरुपमा पहिरोले बगाएर लगेको छ ।

पहिरोमा परी लक्ष्मी सुनुवार, धनरुप सार्की, मान बहादुर थापा, आदिचन्द सुनार, गार्ख थापा, महले सार्की, धर्म बहादुर शाही, टुङ्गी सुनार, पदम सुनार, दान बहादुर सुनुवार, कृष्ण बहादुर मल्ल, नानी मल्ल र मीनबहादुर शाही को घर बगाएर पूर्णरुपमा क्षति गरेको बताएका छन् । उनी भन्छन्, पहिरो माथिबाट खसिरहेको र वस्ती तलतिर भएकाले सो बस्ती उच्च जोखिममा रहेकाले वस्तीलाई नै सुरक्षित स्थान्तरण गर्नु पर्ने बताउछन् । बाँकी रहेका गाउँबस्तीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्नु अतिनै आवश्यक भएको स्थानीय मोहननाल सुनार बताउछन् ।

सोही पहिरो कारण साविक मैला गाबिस वडा नम्बर ४ का १७० घर तत्काल अन्यन्त्र सार्नुपर्ने तत्कालको आवश्यकता भएको छ । पहिरो गएर जनता न गाँस र बासको अवस्थामा पुग्दा सम्म संघ र प्रदेश सरकारले कुनै सुनुवाइ नगरेको पहिरो पडित जनताको गुनासो छ । स्थानीयका अनुसार महिनौ दिन डाँडा र पाखामा पालको भरमा दिन र रात बिताई रहेका जनताको पीडालाई स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको नजरमा पुग्न सकेको छैन् । चुनावका बेला नेतालाई जिताएर गाउँदेखि केन्द्रसम्म पुराउनका लागि हाम्रो ठुलो योगदान छ तर सरकारले पाल र एक छाक टार्ने व्यवस्था सम्म नमिलाउनु र देखेर पनि नदेखको जस्तो गरिहेको छ । एक महिना अघि देखि पालमा रात विताइरहेका ताजाकोट ४ निवासी उतिसेनिका २३ घरवस्ती , खर्रा देउलागैराका ७ घरवस्ती र भदालदिपुका ७ घरवस्ती रोएर दिन रात काटिरहेका छन । धन्न स्थानीय सरकारले पालको व्यवस्था गरेपछि खुला आकास मुनीको शरीर ढाक्न सकेका छन् । तर आजसम्म पनि संघ र प्रदेश सरकार मुखदर्शक भएर टुलुटुलु हेरिरहेको छ ।