बिष्णु पौडेलको नेतृत्वमा विवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन

३० साउन काठमाडौं । विगत एक महिनादेखि किचलो हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवादको समाधानका लागि ६ सदस्यी कार्यदल गठन गरिएको छ ।

आज शुक्रबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भएको छलफलपछि उक्त कार्यदल गठन गर्ने निर्णय भए बमोजिम सो कार्यदल गठन गरिएको हो ।

आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको हो ।

दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

महासचिव पौडेलका अनुसार सो कार्यदलमा आफु बाहेक अन्य सदस्यमा नेताहरु भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे रहेको बताएका छन् ।