विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक ५७ बर्षे पुरुषको कोरोना उपचारकै क्रममा मृत्यु

२८ साउन, विराटनगर । पछिल्लो समयमा कोरोना भाइरसका संक्रमिण बढ्ने क्रमसँगै मर्नेको संख्या पनि थपिने क्रममा आज विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् । उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो ।

सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । सोमबार भर्ना भएका पुरुषको बुधबार बेलुका ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलले बताए ।

मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेका उनलाई कोरोना संक्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या थियो । बुधबार बिहानसम्म उनको अवस्था सामान्य थियो । तर दिउँसो अवस्था गम्भीर बनेका उनी कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएको छ ।