Breaking News

झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन

२८ साउन, बाजुरा । लगातार आइरहेको बर्षाले बुढीगंगा नदीमा आएको पानीको वहावले गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा अवस्थित बूढीगंगा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ ।

झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंँडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ । हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए ।

झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ । त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन । कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ । पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी बताएका छन् ।
अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन् । हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

बाढीका कारण बस्ने घरदेखि लगाउने कपडा र एक छाक खानका लागि एक मुठी अन्नसमेत स्थानीयवासीले बचाउन सकेका छैनन् । खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैसीले तत्काल हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरिनुपर्ने बताए ।

गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले भने गृहमन्त्रीलाई भेटेर गौमूल, बडीमालिकालगायत नदी क्षेत्रका बस्तीमा पारेको प्रभावका बारेमा सबै जानकारी गराइसकिएको र उद्धारका लागि पहल भइरहेको बताए ।

त्यस्तै त्रिवेणी नगरपालिका वडा नं. ८ कालापानीस्थित बूढीगंगा नदीको छेउमा एक बालिका मृत भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी–८ पन्ताली घर भएका खडक लुहारकी सात महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।

बालिकाका बाबुका अनुसार मंगलबार बिहान आमा–छोरी घरबाट निस्केका थिए ।