उच्च अदालत पाटनद्धारा लगानी बोर्डको कार्यकारी अधिकृतमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

२७ साउन, काठमाण्डौं । सरकारले हालै मात्र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेपछि उनी बिवादमा मात्र परेनन् उनी नियुक्तीको बिरोध समेत आइरहेको बेला उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आज मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी दिएका छन् ।

अदालतले भट्टलाई पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज नगर्न आदेश दिएको छ ।

अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । अदालतले साउन ३२ गते पक्ष र विपक्ष दुबै पक्षलाई छलफलमा बोलाएको छ ।