पछिल्लो २४ घन्टामा ६३८ जना कोरोना संक्रमिण हुँदा २ को मृत्यु

२७ साउन, काठमाण्डौं । आज मंगलबार देशभरमा कोरोना भाइरसका ६३८ जनामा संक्रमण भएको छ भने २ जनाको मृत्यु भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । उनीहरुमध्ये ८३ जनाको मृत्यु भएको छ भने १६ हजार ६६४ निको भएका छन् । आजै मात्र १७१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना रोगबाट दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट धनुषा र सिन्धुपाल्चोकका एक–एक जनाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल, जनकपुरधाममा उपचाररत विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । क्षयरोग र निमोनियाका बिरामी रहेका उनको पछिल्लो १८ दिनदेखी आईसीयूमा उपचार भइरहेको थियो ।

यस्तै साउन २२ गते मृत्यु भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ८४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

देशभर आज कहाँ कति थपिए संक्रमित त ?

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४६२ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा काठमाडौं उपत्यकामा मात्र १३४ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंका ११०, ललिपतुरका १६ र भक्तपुुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही र सुनसरीका ३३–३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरी र सिराहाका १३–१३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्की र सुर्खेतका ५–५ जना, काभ्रे ४, चितवन र नुवाकोटका ३–३ तथा पर्वत, सल्यान, दैलेख, बाग्लुङ, तनहुँ, नवलपरासी र ओखलढुंगाका २–२ मा संक्रमण देखिएको छ ।

यस्तै रामेछाप, धनकुटा, रुकुम पश्चिम, सिन्धुपाल्चोक, खोटाङ, स्याङ्जा, अछाम, अर्घाखाँची, दोलखा, इलाम, जाजरकोट, कालीकोट, पाँचथर, दार्चुला, बर्दिया, मकवानपुर र गोरखाका १–१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।