१४ बर्षीया बालिकालाई २ सातासम्म बलात्कार गर्ने एक जना पक्राउ

२६ साउन, रौतहट । बालात्कार घटना दिनदिनै बढीरहेका बेला प्रदेश २ को रौतहटको गुजरा नगरपालिकाका एकजना पक्राउ परेका छन् । गुजरा–५ सोनारडिह टोलका ४५ वर्षीय मुम्ताज देवान फकिर उक्त मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ । पीडितको जाहेरीको आधारमा फकिरलाई पक्राउ गरिएको हो ।

फकिरमाथि जबर्जस्ती करणी तथा अपहरण मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट १० दिनको लागि म्याद थमाई अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साहले बताएका छन् ।

फकिरले आफ्नै गाउँको १४ वर्षीया बालिकालाई ललाई फकाई तथा विभिन्न धाक धम्की देखाएर भारतको मुजफरपुरमा लगेर दुई सातासम्म राखेर यौनशोषण गरेको पीडित परिवारले बताएको छ । दुई सातापछि गत १४ गते भारतीय नम्बरको मोटरसाइकलमा ल्याएर कटहरिया र गुजरा नगरपालिकाको सीमामा छोडेर फकिर बेपत्ता भएका थिए ।

विशेष सूचनाको आधारमा फकिरलाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।