उड्यन क्षेत्रमा १० अर्बको नोक्सानी

२६ साउन, काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ नोक्सान बेहोर्नु परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७६–७७ को वार्षिक प्रगति विवरण अनुसार प्राधिकरणको आम्दानी साढे चार अर्ब रुपियाँले घटेको छ । गत आवमा नियमित र विमानस्थल विकास शुल्कबापत १० अर्ब ५४ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा बन्दाबन्दीका कारण प्राधिकरणको आम्दानी पाँच अर्ब ९६ करोडमा सीमित भएको छ । यो प्राधिकरणको लक्ष्यभन्दा ४३ प्रतिशतले कम हो ।

प्राधिकरणले गत आवमा अवतरण, पार्किङ, नेभिगेसन, भाडाजस्ता शुल्कबाट गर्ने नियमित आम्दानी चार अर्ब ६१ करोड रुपियाँ पुगेको छ । जब कि यी शीर्षकबाट प्राधिकरणले आठ अर्ब ३३ करोड १३ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । त्यस्तै विमानस्थल विकास शुल्कबापत प्राधिकरणले एक अर्ब ३४ करोड ७७ लाख आम्दानी गरेको छ । यो शीर्षकमा प्राधिकरणले दुई अर्ब २१ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य तय गरेको थियो ।

प्राधिकरण बाहेक वायुसेवा कम्पनीको आम्दानी निकै खुम्चिएको प्रक्षेपण नियामक निकायले गरेको छ । वायुसेवा कम्पनीले बन्दाबन्दीका कारण छ अर्ब रुपियाँ आम्दानी गुमाएको प्रक्षेपण प्राधिकरणको छ । प्राधिकरण र वायुसेवा कम्पनी समेतको नोक्सानी गरेर उड्डयन क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ गुमाएको पाइएको
हो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।