ट्रम प्रशासनद्धारा टिकटकमा प्रतिबन्ध

एजेन्सी २३ साउन, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागु हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

झन्डै दुई वर्षदेखिको व्यापार युद्ध र पछिल्लो समय हुवावेको फाइभी जीमाथि प्रतिबन्ध, कोरोनाभाइरस, साउथ चाइना सी र हङहङका विषय चीनसँग विवाद चुलिइरहेका बेला अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै ट्रम्पले प्रतिबन्ध घोषणा गरेका हुन् ।

‘अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि टिकटकविरूद्ध यो कदम उठाउन आवश्यक थियो,’ ट्रम्पको कार्यकारी आदेशमा भनिएको छ ।

यसअघि अमेरिकाको सिनेटले सरकारी विद्युतीय उपकरण टिकटकलाई प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो ।

अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक अमेरिकाको स्वामित्व किन्न चाहेको छ। राष्ट्रपति ट्रम्पको आदेशपछि अब उक्त खरिद प्रक्रिया ४५ दिनअगावै सक्नुपर्ने देखिएको छ ।

चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको थियो। पछि उसले म्युजिकल्ली नामको अर्को एप किनेको थियो ।

टिकटक अमेरिका र युरोपका युवाहरूमाझ निकै लोकप्रिय छ। पछिल्लो समय कोरोनाभाइरसको संक्रमण रोक्न विश्वका विभिन्न मुलुकमा लकडाउन भएपछि टिकटक डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको थियो ।

विश्वभर टिकटकमा ५० करोड र अमेरिकामा ८ करोड प्रयोगकर्ता छन् ।

अमेरिकी अधिकारीहरूले टिकटकका माध्यमबाट प्रयोगकर्ताका विवरणहरू चीन सरकारसमक्ष पुग्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

पछिल्लो समय गल्यान उपत्यकामा चिनियाँ जनमुक्ति सेनासँगको झडपमा दर्जनौं भारतीय सैनिकको मृत्यु भएपछि भारतले टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

चिनियाँ कम्पनीले चलाएको भए पनि चीनभित्र भने टिकटक प्रतिबन्धित छ ।