श्रीलंकाको टापु राष्ट्रमा राजापाक्षे दाजुभाईको दुई तिहाइ मत

एजेन्सी

२३ साउन, कोलोम्बो । श्रीलंकाको टापु राष्ट्रमा अस्ति बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत प्राप्त गरेको छ ।

त्यहाँको निर्वाचन आयोगले आज शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन् ।

कोरोनाभाइरसको महामारीबीच आम निर्वाचन गर्ने श्रीलंका पहिलो दक्षिण एसियाली मुलुक हो । बुधबारको मतदानमा ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ ।

राजापाक्षेको पार्टीले अत्याधिक बहुमतले चुनाव जित्ने देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारै समकक्षी महिन्दा राजापाक्षेलाई टेलिफोन गरी बधाई दिएका थिए ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजापाक्षेका भाइ गोटवायाले विजय हात पारेका थिए । राष्ट्रपति बनेपछि गोटवायाले पूर्वराष्ट्रपति रहेका दाजु महिन्दालाई प्रधानमन्त्री बनाएका थिए ।

संसदमा दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने भन्दै गोटवायाले अवधि सकिनु छ महिनाअघि नै संसदीय चुनाव घोषणा गरेका थिए । कोरोनाभाइरसका कारण चुनाव दुई पटक सरेको थियो ।

श्रीलंकाको राजनीतिमा दुई दशकदेखि राजापाक्षे परिवारको एकछत्र जस्तै छ । सन् २००५ देखि २०१५ सम्म महिन्दा राजापाक्षे राष्ट्रपति थिए । पछि पार्टीभित्रैबाट भ्रष्टाचार र नातावादको चर्को विरोधपछि उनी सत्ताबाट बाहिरएका थिए ।

राजापाक्षेहरूको पार्टी सिंहाली समुदायमा लोकप्रिय छ । सन् २००९ मा तमिल विद्रोह अन्त्य गर्न मुख्य भूमिका खेलेको जस राजापाक्षे दाजुभाइलाई छ ।