रोजगार र तलव सुबिधामा कटौटी तथा मजदूर विरोधी सम्झौताको विरोधमा ६ संगठन सडकमा

१५ साउन, काठमाडौं । विभिन्न ६ वटा मजदूर संघ, संगठनहरुले ‘रोजगार कटौटी, तलव सुबिधा तथा मजदूर विरोधी सम्झौता’ को विरोधमा भोलि काठमाडौंमा सडक आन्दोलन गर्ने तयारी गरेका छन ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोनाभाईरस) को संक्रमण र त्यसले पारेको प्रभाव देखाउँदै देशकै अब्बल तथा आर्थिक रुपमा सबल देखिने कम्पनी, संस्थान, कार्यालय र त्यसका मालिकहरुले श्रम ऐनको मर्म विपरित ढंगबाट श्रमिक वर्गमा समस्या पारेको भन्दै संघ, संगठनहरु आन्दोलन गर्न लागेका हुन ।

नेकपा (माओवादी केन्द्र) निकटको क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल (रिफन्ट) लगाएतका अन्य राजनीतिक पार्टी निकटका र स्वतन्त्र मजदूर सम्बद्ध संघ, संगठनहरुको संयुक्त आयोजनामा भोलि उक्त कार्यक्रम हुन लागेको बुझिएको छ ।

उक्त कार्यक्रम क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल (रिफन्ट) , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडेरेशन, नेपाल समाजवादी ट्रेड युनियन महासंघ, प्रगतिशिल समाजवादी नेपाल ट्रेड युनियन महासंघ र स्वतन्त्र ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा हुन लागेको बुझिएको छ ।

रिफन्टका महासचिव समेत रहेका मजदूर नेता मेघराज खत्रिले भोलिको कार्यक्रमका विषयमा आज प्रेस सेन्टर नेपालसँग कुराकानी गर्दै मजदूरमारा प्रवृतिका मालिक र राज्यको नीतिको विरोधमा कोरोना कहरका बिचमा पनि आफुहरु सडकमा उत्रिन बाध्य भएको बताए ।

रिफन्टका महासचिव खत्रिले पछिल्लो समयसम्म पुग्दा मालिकहरुले मजदूरहरुलाई आफुलाई आवश्यक पर्दा कामदारको रुपमा सम्झौता गरेरै पनि कामदार लिने र आवश्यक नलागेमा त्यहि सम्झौताको अपमान गर्दै जबरजस्त कामबाट निकाल्ने, समयमा तलब नदिने, काम छाड्न बाध्य पार्ने लगाएतका मजदूरमारा गतिविधि बढाएकोप्रति राज्य निकाय समेतको मौन समर्थन जस्तो अवस्था देखिएकाले सडकमै उत्रिनुपर्ने अवस्था सिर्जना भएको बताए ।

उनले राज्यको नियम कानुनको पूर्णतया कार्यान्वयन गर्ने सर्तसहित दर्ता भएका संस्थान, कार्यालय, कम्पनीहरुमा काम गर्ने मजदूरमाथि अन्याय हुने र त्यसमा राज्य निकाय मौन बस्ने कुरा दलाल संसदवादको प्रभाव भएको प्रष्ट पारे ।

उनले राज्यले बनाएको श्रम ऐनको पूर्ण कार्यान्वयन मालिकहरुले नगरेकै कारणले मजदूरहरुले तत्काल देखिएको समस्या भोग्नुपरेको भन्दै उनले राज्यलाई श्रम ऐनको कार्यान्वयन गर्नका लागि राज्य निकायलाई सचेत बनाए ।

त्यस्तै उक्त कार्यक्रमको विषयमा प्रेस सेन्टर नेपालसँग कुराकानी गर्दै रिफन्टका उपाध्यक्ष समेत रहेका अर्का मजदूर वर्गका नेता रामप्रसाद मैनालीले मालिक र मदजूरबिचको अधिकार तथा पेशागत सुरक्षाको संघर्ष वर्गिय समाज रहेसम्म चलिरहने भन्दै मजदूर श्रमिक वर्गको राज्यसत्ताँ स्थापना मूख्य कुरा भएको बताए ।

उनले कम्पनी वा रोजगार संस्थाका मालिकहरु र राज्य निकाय जहिले पनि मजदूरको श्रमशोषणका पक्षमा रहदै आएको र त्यो मुलुकको वर्तमान वर्ग विभेदी सामाजिक संरचनाका कारण उब्जेको उनको भनाई छ।

उनले मजदूर तथा श्रमिक वर्गको हक, अधिकारको दिर्घकालिन व्यवस्थापनको लागि संघर्ष, विद्रोहको माध्यमबाट सर्वहारा वर्गिय राज्यसत्ताँ स्थापनामा सबैले योगदान गर्नुपर्ने धारणा राखे ।

उनले मजदूर वर्गमाथि राज्य तथा रोजगारदाता मालिकहरुले गरेको अन्ययापूर्ण व्यवहारको विरोधमा उत्रिनुको अहिले विकल्प नरहेको भन्दै भोलि हुने उक्त कार्यक्रममा सबै क्षेत्रमा छरिएर रहेका श्रमिक सम्बद्ध संघ, संगठनहरु, मजदूर वर्ग तथा आम जनसमूदायलाई सहभागि हुनका लागि आग्रह समेत गरेका छन ।

आयोजक संगठनहरुले दिएको जानकारी अनुसार भोलि ठिक एक बजें माईतिघर मण्डला चोकबाट उक्त विरोध र्याली शुरु हुनेछ । मजदूर हक, अधिकार सम्बन्धी विभिन्न नारा, ब्यानर सहित सहभागि भएका सबै त्यहाँबाट नारा लगाउँदै नयाँवानेश्वर चोकमा जाने र कोणसभा गर्ने बुझिएको छ ।

उक्त विरोधसभालाई आयोजक संगठनका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । राज्यको मजदूरमारा नीतिका विरुद्ध नेताहरुले व्यापक भण्डाफोर गर्दै मजदूरको समस्या तत्काल हल गर्नका लागि दवाव दिने र अर्को चरणको आन्दोलनको उद्घोष समेत गर्ने बुझिएको छ ।

कार्यक्रममा राजधानीका विभिन्न स्थानमा छरिएर रहेका, कामदार, मजदूर तथा नागरिकहरुको बाक्लो सहभागिता रहने आयोजकले अनुमान गरेको छ । कार्यक्रमको सबैखाले आन्तरिक तयारी र जिम्मेवारी समेत बाँडफाड भएको बताइएको छ ।