एउटा मुद्दाका कारण दर्जनौं भ्रष्टाचारका ‘हाई प्रोफाइल’ मुद्दा रोकिए

१३ साउन, काठमाण्डौं । सर्वोच्च अदालतमा लामो समयदेखि दर्जनौं हाई प्रोफाइल मुद्दाको सुनुवाइ रोकिएको छ । एउटा मुद्दाका कारण दर्जनौं भ्रष्टाचारका ‘हाई प्रोफाइल’ मुद्दा वर्षौंदेखि फैसला हुनबाट रोकिएका हुन् । नेपाल आयल नियगमका पूर्वप्रमुख युवराज शर्माको अकुत सम्पत्ति सम्बन्धी मुद्दाका कारण सर्वोच्चमा वर्षौं पुरानो भ्रष्टाचारको मुद्दा सुनुवाइ हुन नसकेको हो ।

२७ मंसिर २०६४ मा शर्माकै मुद्दामा तत्कालीन विशेष अदालतका न्यायाधीश तथा अहिलेका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणासहित भूपध्वज अधिकारी र कोमलनाथ शर्माको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको थियो । विशेष अदालतले शर्मालाई सफाइ दिने फैसला गरेसँगै सो मुद्दा पुनरावेदनका लागि सर्वोच्च प्रवेश गरेको थियो ।

सर्वोच्चले शर्मालाई दोषी ठहर गरे पनि फैसला गर्दा गलत आय गणना गरेको दाबी गर्दै सो मुद्दा दर्ता भएसँगै यो मुद्दा हाल विचाराधीन छ । यो मुद्दा २०७२ सालदेखि निरन्तर पेसी चढेर पनि सुनुवाइ हुन सकेको छैन । कृषिलगायत अन्य आयको गणना नगरी सर्वोच्चले दोषी ठहर गरेको शर्माको जिकिर छ । विशेषले गरेको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको
थियो । सो पुनरावेदनको पहिलो पटक फैसला गर्दै सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीले शर्मालाई भ्रष्टाचारी ठहर गरी कैद, जरिमाना र बिगो जफत हुने फैसला गरेका थिए । शर्माको आय गणनाको अन्योलका कारण धेरै मुद्दाहरु फैसला हुन सकेका छैनन् ।

शर्मालगायत सर्वोच्चमा पूर्वभन्सार प्रमुख केशरजंग खड्का, सावित्री राजभण्डारी, बहालवाला सचिव श्रीराम पन्त, पूर्वआइजिपी प्रदीप शमशेर जबरा, रामप्रसाद अर्याल, तनुकलाल यादव र सुरेशकुमार रेग्मीका मुद्दा रोकिएका छन् । नेपाल बैंकका पूर्वनायब महाप्रबन्धक शेरबहादुर थापा, सहसचिव मुरारीबहादुर कार्की र भन्सारका पूर्वसहसचिव जनार्दन शर्मा, पूर्वएसपी अरुणकुमार सिंह, भन्सारका कर्मचारी केशवराज गौतमविरुद्धको भ्रष्टाचार मुद्दा अड्किएको छ । ६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्र्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा वर्षौंदेखि अदालतमा अल्झिरहेको छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।