आरडिटी पोजेटिभ देखिएका एक बृद्धाको मृत्यु कोरोना रिर्पोट आउन बाँकी

११ साउन, वीरगञ्ज । कोरोना भाइरसका संक्रमित थपिने क्रम सँगै निको भएर घर फिर्ता हुने क्रम पनि जारी नै छ । त्यसमा फाट्टफुट्न कोरोनाबाट मर्नेको संख्या पनि भइरहेको छ । कोरोना आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको वीरगञ्जमा मृत्यु भएको छ ।

नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आज आइतबार बिहान मृत्यु भएको हो ।

मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।

नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै ८ बजेतिर गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

गण्डक अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचार गर्दागर्दै आइतबार बिहान ६ः४० बजे उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।