पूर्वडीआईजी कोइरालाको पुनरावलोकन सुनुवाई भोलि

१० साउन, काठमाण्डौ । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि भोलि आइतबार सुनुवाइ हुने भएको छ ।

यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आइतबार पेशीमा चढ्ने सर्वोच्च अदालतले स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशहरुबाट सुनुवाइ हुनेछ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाइ हुनेछ ।

यो मुद्दाको पेशी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्ने छ । सर्वोच्चका एक पूर्वन्यायाधीशका अनुसार प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले यो पुनरावलोकन मुद्दाको पेशी र इजलास दुवै उनले तोक्न मिल्दैन ।

पूर्व डीआईजी रञ्जन कोइरालाले २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए ।

सो मुद्दामा जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर सर्वोच्च अदालतले भने १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको सो फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।

सर्वोच्चको सो फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।