श्रीमतीको हत्या गरी जेल पसेका पूर्वसशस्त्र प्रहरी डीआइजी रञ्जन कोइराला थुनामुक्त

८ साउन, काठमाण्डौ । सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका उनी आज थुनामुक्त भएका छन् ।

०६८ माघ ८ मा रञ्जनलाई नारायणगढबाट काठमाडौँ फर्कंदै गर्दा थानकोटबाट प्रहरीले पक्रेर मुद्दा चलएको थियो । त्यति बेलादेखि उनी थुनामा रहेका थिए ।

हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ बर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् ।

श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका पूर्वडीआइजी कोइराला साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त भएका हुन् ।
‘नाबालक छोराहरुको हेरचाह, संरक्षण र शिक्षादिक्षामा प्रभाव पर्ने देखिएको’ भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशले रञ्जनको सजाय घटाउने फैसला गरेको थियो । प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्नसक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् ।

‘मृतक गीता ढकाल र प्रतिवादी कोइरालाको २७ पुस २०६८ मा व्यापारका लागि पैसा मागेको कुराबाट उठेको विवादमा दुवै जनाबीच झैझगडा वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा भित्तामा ठोकिइ मृत्यु भएको देखिन्छ । साथै वारदात हुँदा पृष्ठभूमिको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आदेश आई उठेको रिसबाट भएको भन्ने अवस्था देखियो । साथै ढकालको मृत्युपश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षा दिक्षालगायतका कार्यहरु अभिभावकविहीनताका कारण अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जानसक्ने भएकाले सो सजाय चर्को मूल्य पर्न जाने जस्तो चित्तमा लागेको हुँदा प्रतिवादीलाई साविक मुलुकी ऐन अ.ब १८८ नम्बर हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) अनुसार ८ वर्ष ६ महिना कैद हुनेछ ।’ सर्वोच्चले कोइरालाको मुद्दाको फैसलामा भनेको छ ।

काठमाडौँ जिल्ला अदालतले ०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सो फैसला तत्कालिन पुनरावेदन अदालत पाटनले ०७२ मंसिर २३ मा सदर गरेको थियो ।

घटना कसरी घटन पुग्यो ?
०५० मा रञ्जन र गीताको विवाह भयो, दुई छोरा जन्मिए । सम्बन्धमा खटपट भएपछि दुवैजना अलग बस्न थाले । बुढानिलकण्ठमा गीता बसेको घर उनकै नाममा थियो । रन्जनले छोडपत्र चाहेका थिए । तर, गीताले मानाचामल मुद्दा हालिन् ।

०६८ पुस २७ मा गीता ढकाल घरबाट हराइन् । माघ ८ मा रञ्जन गीताको हत्या आरोपमा पक्राउ परे । घरमा हत्या गरेर रञ्जनले सशस्त्रको गाडीमा गीताको शव मकवानपुरको टिष्टुङ जंगलमा लगेर जलाए ।

सशस्त्रले सुविधाले दिएको गाडीमा शव जलाउन उनले काठमाडौँबाट पेट्रोल र डिजेल लगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

माघ ७ मा शवको अवस्था बुझ्न रञ्जन टिष्टुङ पुगेपछि उनको अपराध पटाक्षेप भयो । त्यसपछि लगत्तै त्यहाँबाट उनी ‘डीआइजी हुँ’ भन्दै नारायणगढतर्फ लागे ।

कोइराला ८ माघमा काठमाडौँ आउँदै थिए । आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित उनलाई नागढुंगामा प्रहरीले हत्कडी लगाएको थियो ।

डीएनए परीक्षण र हड्डीमा बाँधिएको घडीबाट गीताको शव पहिचान भएको थियो ।

समाचार रातोपाटीबाट