पत्रिकाको ग्राहक बन्छु भनी कोठामा लागी १७ वर्षे युवतीलाई बलात्कार

७ साउन, भक्तपुर । कोरोना लकडाउनमा आत्महत्या, आत्मदाह, हत्या र बलात्कारका घटना धेरै घटेका छन् । यस्तै घटना भक्तपुरमा घटेको छ । रामेछाप खाँडादेवी गाउँपालिका–९ स्थायी घर भएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारी मध्यपुरथिमिमा मासु पसल चलाउँथे । मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल अगाडी रहेको पसलमा २०७६ जेठ २७ गते एक किशोरी आइन् । उनी पत्रिकाको ग्राहक बनाउँदै हिँड्थिन् ।

भण्डारीले ती १७ वर्षकी किशोरीलाई पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ, भन्दै फकाई डेरामा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार भण्डारीले ती किशोरीलाई बलात्कार गरेपछि कोही कसैलाई भने मारी दिन्छु भनेर धाकधम्की दिए ।

पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेको र गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिइन् । २०७७ असार १४ गते जबरजस्ती करणी मुद्दामा पीडित किशोरीले जाहेरी दरखास्त दिएपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको सूचना अधिकारी गिरीले बताए ।

जबरजस्ती करणी मुद्दाको कसुर बमोजिम एक बर्षे हद म्याद भएता पनि कोभिड–१९ संक्रमणको कारण देशभर बन्दाबन्दी भएकाले भण्डारीलाई खोजतलास गर्दै जाँदा मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका भण्डारीलाई जिल्ला अदालत भक्तपुर पेश गरेकोमा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।