कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’ वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था होइन

माधव कुमार नेपाल

७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औं स्मृति दिवसको अवसरमा नेकपाका अर्का वरिष्ठ नेता माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरु सधैँ मार्गदर्शनका रुपमा रहेको बताएका छन् ।

दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर संस्थापक महासचिव पुष्पलालको सपनालाई साकार मात्र नपारेको बताउँदै नेता नेपालले नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन ठोस योगदानसमेत दिएको बताएका छन् ।

उनले नेपाल कम्युनिष्ट पार्टीलाई अझै बलियो र विधि–पद्दतिमा आधारित बनाउन आवश्यक रहेकामा जोड दिएका छन् ।

‘संस्थापक महासचिव कमरेड पुष्पलाललाई स्मरण गरिरहेको यस घडीमा हामीले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक छ,’ नेपालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

नेता नेपाल अगाडि लेख्छन्, ‘कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’ वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यहीअनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई हामीले दृढतापूर्वक व्यवहारमा लागु गर्नुपर्छ । अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ । आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतापूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ ।’

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता नेपालले पुष्पलालका आदर्शहरुलाई दृढतापूर्वक पछ्याइरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।