मुग्लिन–नौबिसे सडकखण्डमा २०० भन्दा बढी पहिरो सडक खोल्न २ दिन लाग्ने

६ साउन, काठमाण्डौ । लगातार परेको बर्षाका कारण देशैभरी बाढी र पहिरोले बित्यासै नै पारेको छ । राजधानी काठमाण्डौ जोड्ने प्रमुख सडक खण्ड पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा करिब २०० भन्दा बढी सानो ठूला पहिरो गएका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बाढीले बगाएर लगेको छ ।

मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारी भएको र यसका लागि जाली मगाइएको छ । बेलिब्रिज भन्दा यो सहज र छिटो हुने उनले बताए । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग छलफल गरी काम अघि बढाइने डिभिजन सडक कार्यालय भरतपुरका कार्यालय प्रमुख ई. कृष्णराज अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ई. शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उहाँले जानकारी दिए । सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उनको भनाइ छ ।

मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उनले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमै रोकिएर बसेका छन् ।