कर्णाली नदी –कैलाशदेखि गंगासम्म

कैलाश पर्बतमा पानीका ४ वटा महत्वपूर्ण स्रोतहरू छन् जसमध्ये दक्षिण-पश्चिम तिब्बत स्थित कैलाश पर्बतको पूर्ब पट्टि बाट ब्रम्हपुत्र नदी निस्किन्छ । यसलाई ताम्चोक खम्बाब (Tamchok khambab) अर्थात घोडाको मुखबाट निस्केको नदी भनिन्छ । यो तिब्बतबाट भारत हुदै बंगलादेश पुग्छ ।

कैलाश पर्बतको पश्चिमपट्टिबाट सतलज नदी निस्किन्छ । यसलाई लांचेन खम्बाब (lanchen khambab) अर्थात हात्तीको मुखबाट निस्केको नदी भनिन्छ । यो तिब्बत हुदै भारतको पंजाबसम्म पुग्छ ।

कैलाश पर्बतको उत्तरतिरबाट ईन्डस नदी (सिन्धु नदी) निस्किन्छ । यसलाई सिंगी खम्बाब (singi khambab ) अर्थात सिंहको मुखबाट निस्केको नदी भनिन्छ । यो जम्मु-काश्मिर पाकिस्तान हुदै अरब सागरमा मिसिन्छ ।

कैलाश पर्बतको दक्षिण-पश्चिम स्थित ७७०० मिटर उचाईमा रहेको गुर्ला मानदाता पर्बतको फेदीबाट निस्केको नदीलाई मार्चा खम्बाब (marcha khambab) अर्थात मयुरको मुखबाट निस्केको नदी भनिन्छ । गुर्ला मानदाता पर्बतको मयुर आकारको फेदबाट निस्किने मार्चुचुङ्गु (marchuchungu) मूललाई कर्णाली नदीको उद्गम मानिन्छ । पर्बतको फेदबाट करिब २० मिटर तल झरेपछि उत्तर–पश्चिम उपत्यकाबाट आएको नदीमा मिसिन्छ ।

यो नदी नै नेपालको हुम्ला जिल्लाको हिल्सा झरेपछि कर्णाली नदी बन्छ ।

कर्णाली नदीको कूल लम्बाई १०८० किलोमिटर छ भने यो नदीको नेपालमा मात्र लम्बाइ ५०७ किलोमिटर छ । यो नदी नेपालको हुम्ला, बाजुरा, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डोटी, बर्दिया र कैलाली जिल्ला हुदै कैलालीको दक्षिण लागेपछि भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा शारदा नदीसँग मिलेपछि घाघरा नदी बन्छ ।

अयोध्यामा यसलाई सरयु नदी भनिन्छ । अयोध्याबाट दक्षिण-पूर्ब बगेर बिहारको राजधानी पटनादेखि उत्तरस्थित छपरा जिल्लामा गंगा नदीमा मिसिन्छ । यस प्रकार कर्णाली नदीले चीनको तिब्बत स्थित कैलाशदेखि नेपाल हुदै भारतको गंगा नदीसम्मको यात्रामा अनेकौं धार्मिक-साँस्कृतिक-पर्यावरणीय स्थान एबं इतिहास निर्माण गरेको छ । कर्णाली नदीको अध्ययन, संरक्षण र उपयोगको गुरूयोजना बनाई अविलम्ब कार्यारम्भ गर्नु पर्दछ । यसमा सम्बन्धित सबैको पहलकदमी अति जरूरी छ ।