प्रधानमन्त्रीको राजीनामा केन्द्रीय कमिटी कोटमा

२ साउन, काठमाण्डौ । स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद केन्द्रीय कमिटीमा पुग्ने भएको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक निर्णय गर्न असफल भएपछि विवादित विषयको निरुपण गर्ने जिम्मा केन्द्रीय समितिमा लैजाने तयारी भएको हो ।

शुक्रबार बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने र त्यहीँबाट समस्याको समाधान निकाल्न शीर्ष नेताहरु तयार भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

‘विवाद जहाँको त्यहीँ छ । बीचमा धेरै पटक सहमतिका लागि प्रयास भयो । तर सहमति जुटेन,’ वरिष्ठ नेता झलनाथ खनालले रातोपाटीसँग भने, ‘अव जे निर्णय हुन्छ केन्द्रीय कमिटिबाटै हुन्छ ।’

नेता खनालले कम्तिमा एक महिनापछि केन्द्रीय समिति बैठक बोलाउन सकिने बताए । यदि सोही अनुसार निर्णय भए नेकपाभित्रको बैशाखयता चर्किएको विवाद अरु थप एक महिना पर धकेलिने छ । अर्थात् ओलीले अरु एक महिना राजीनामा दिनुनपर्ने भएको छ ।

पार्टी विधानअनुसार नेकपा केन्द्रीय समिति बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने व्यवस्था छ । यसअघि गत माघमा केन्द्रीय समिति बैठक बसेको थियो ।

स्थायी समिति सदस्य देवेन्द्र पौडेल केन्द्रीय कमिटी बैठक बोलाइए पनि समस्या समाधान भैनसकेको केवल समस्या अलि पर धकेलिएको बताउँछन् । ‘नेकपा संकट निश्कर्षउन्मुख भएको होइन, यो पर धकेलिएको मात्र हो’, नेता पौडेलको भनाई छ ।

उनका अनुसार केन्द्रीय समितिमा भोटिङ नै गर्नुपरे पनि त्यो अन्तिम र वैधानिक निर्णय हुनेछ । उनी भन्छन्, ‘सचिवालय र स्थायी कमिटीभन्दा केन्द्रीय कमिटी ठुलो र शक्तिशाली निकाय भएकाले त्यसले निर्णय गर्नु त राम्रै हो ।’

तर, केन्द्रीय समिति बैठकअघि नेताहरुबीच आपसी समझदारीको प्रयाससमेत गरिने छ । यो प्रयासमा ओलीलाई प्रधानमन्त्री या पार्टी अध्यक्ष दुई मध्ये एक रोज्न समय मिल्नेछ । अहिलेसम्म ओली कुनैपनि पद नछोड्ने अडानमा छन् ।

‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने एक पक्षको अडान र कुनै पदबाट पनि राजीनामा नगर्ने ओलीको अडानले झण्डै एक महिनाअघि सुरु भएको स्थायी समिति ठोस निर्णय गर्न असफल भएको छ । छलफलका लागि तय गरिएका एजेण्डामा समेत छलफल हुन सकेन’, अर्का एक स्थायी समिति सदस्यको भनाइ छ ।

‘नढाँटी भन्ने हो भने नेताहरुमा व्यक्तिगत आकाँक्षाले बढी काम गर्यो । देश विकास, सुशासन, नेकपाको नीति सिद्धान्त र विचार गौण बन्यो,’ ती सदस्यले आक्रोश व्याक्त गर्दै भने ‘ओली, प्रचण्ड वा नेपाल जो सुकै हुन् यिनीहरु आफै शक्ति आर्जनमा केन्द्रीत बने ।’

के हुन्छ शुक्रबार ?

विवाद मिल्न नसकेपछि शुक्रबार केहीबेर स्थायी समिति बैठक बस्नेछ । नेताहरुका अनुसार औपचारिकताका लागि बस्ने बैठकमा केही नेताहरुले बोल्ने र केन्द्रीय कमिटिको बैठकको मिति तोकिने छ । त्यसअघि दुई अध्यक्षले असार १८ यता सहमतिका लागि भएका प्रयासबारे सदस्यहरुलाई बैठकमा जानकारी गराउँनेछन् ।

ओली कसरी भए सहमत ?

प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक नै बोलाउने पक्षमा थिएनन् । नेताहरुको चर्को दवाव परेपछि उनी गत असार १० गतेबाट स्थायी कमिटी बैठक बोलाउन सहमत भए । तर, बैठकमा आफ्नो राजीनामाको विषय उठ्ने संकेत पहिल्यै बुझेका ओली यो बीचमा स्थायी समिति र सचिवालयमा आफ्नो बचाउमा नेताहरुलाई उत्रार्न निकै ठुलो कसरत गरे । अन्ततः उनको पक्षमा बहुमत नेता नपुगेपछि कहिले उनले बैठक नै छाडेर हिँड्ने त कहिले विषयवस्तुलाई मोड्न अनेकन विषय बाहिर ल्याए ।

‘आफुलाई हटाउन भारत सक्रिय भएकोदेखि अयोध्या नेपालमै पर्छ भन्नेसम्मका अभिव्यक्ति ओलीले दिनुपर्यो । ति विषय कुनै प्रशंगबिनै आएपछि ओली अभिव्यक्तिको एकपछि अर्को विवादमा तानिए । तर पनि महोल उनको राजीनामाबाट टरेन’, एक स्थायी समिति सदस्य भन्छन्, सचिवालय र स्थायी समिति बैठक नै बोलाउन नमान्ने ओलीले केन्द्रीय समिति बैठक बोलाउन सहमत हुनु अर्को आश्चर्य हो । अव केन्द्रीय समिति बैठक बस्दा सम्म पनि ओली प्रचण्ड र माधव नेपालहरुबीच ठोस सहमति नबने अर्को कुनै न कुनै फण्डा नआउला भन्न सकिन्न ।’

त्यसो त नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि पार्टी नै फुट्ने वा चोइटिने समेत अड्कलबाजी नभएका होइनन् । पार्टी फुटे वा चोइटिए पनि दुवैले नेकपालाई फाइदा नपुग्ने भएकाले पनि बरु नेताहरुबीच सहमति कायम गरौ भन्ने जोड रहँदै आएको थियो । सोही क्रममा पटक–पटक भएका छलफलमा कुन पक्षले पार्टी फुटाउने र बाहिरिने ? भन्ने सम्मका बहस भएका थिए । ति सदस्यका अनुसार ओली केन्द्रीय समिति बैठक बोलाउन सहमत हुनुमा दुई कारण छन् । एक उनले यो बीचमा केन्द्रीय सदस्यहरुलाई आफ्नो पक्षमा पार्ने र राजीनामाको विषय टार्ने, दोस्रो त्यो प्रयास असफल भए दुई मध्ये एक पदबाट राजीनामा गर्ने । त्यो कसैको दवाव होइन स्वइच्छाले भन्ने बनाउने । यस्तो हुँदा एकातिर ओलीप्रति सहानुभुति बढ्ने र अर्कोतिर एक्सरसाईज गर्न समेत समय मिल्ने ओली निकट सहयोगीहरुको सुझावका आधारमा बिहीबार तीन नेताबीचको छलफलमा ओली केन्द्रीय समिति बैठक बोलाउन सहमत बनेका थिए ।

बिहीबार दिनभरको दौडधुपले धकेल्यो संकट

यसअघि नै साउन २ गतेलाई स्थायी समिति बैठक बोलाइएको थियो । असार २६ गतेबाट एक साता बैठक स्थगित गरेर ओली प्रचण्ड सहमति जुटाउने प्रयास भएपनि त्यो सम्भव भएन । साउन १ गते ओली प्रचण्ड र माधवकुमार नेपालबीच भएको वार्तामा पनि सहमति ननिस्केपछि नेताहरु केन्द्रीय कमिटी बोलाउन सहमत भएका हुन् । बालुवाटारमा तीन नेताबीच भएको वार्तालगत्तै ओली प्रचण्ड दुवै पक्षले आफु पक्षीय नेताहरुसँग छलफल र अहिलेसम्म सहमतिका लागि भएका प्रयासबारे जानकारी गराए । त्यसअघि बिहीबार बिहानै प्रचण्ड निवास खुमलटारमा प्रचण्डसहित ६ जना सचिवालय सदस्यबीच वार्ता भएको थियो । त्यसपछि बालुवाटार आएका दाहाल र नेपाल साँझ पुन खुमलटार भेलामा
जुटे । बालुवाटारबाट निस्केर नेता नेपालले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय सदस्य ईश्वर पोखरेलसँग पनि छलफल गरेका थिए । साँझ खुमलटारमा मात्र नभई ओलीले बालुवाटारमा पनि आफुपक्षीय नेताहरुलाई बोलाएर छलफल गरे ।

समाचार रातोपाटीबाट