प्रचण्ड–माधवलाई प्रधानमन्त्री ओलीको चुनौती सकेको कदम चाल्नुहोस्

१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने अडान मात्र दोहो¥याएन्, सकेको कदम चाल्न चुनौती दिएका छन् ।

भोलि शुक्रबारका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता छलफलमा जुटेका थिए । यसअघि एक्लै वा स्थायी कमिटीका नेतालाई लिएर वार्तामा बस्न गरेका प्रचण्ड बिहीबारको छलफलका लागि भने वरिष्ठ नेता माधवकुमार नेपाललाई लिएर बालुवाटार पुगेका थिए ।

छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

छलफलका क्रममा प्रचण्ड र नेपाल दुबैले ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् । बालुवाटार जानु अघि खुमलाटारमा भएको सचिवालयका ६ नेताको छलफलमा पनि यही अडान कायम राख्ने सहमति भएको थियो ।

तर ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछाड्ने बताए । आफूलाई सहयोग गर्नुपर्ने बेला राजीनामा मागेर अप्ठ्यारो पार्न खोजेको उनको गुनासो थियो । उनले मंसिर ४ मा भएको सहमतिअनुसार प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षका रुपमा व्याख्या गरेर अगाडि बढ्न सकिने मत राख्दै आएका छन् ।

तर प्रचण्ड र नेपालले सरकार एकएपछि अर्को विवादमा फरेको र पार्टी नै अप्ठ्यारोमा पर्ने अवस्था आउन लागेको भन्दै प्रधाननमन्त्रीबाट राजीनामा दिन आग्रह गरे ।

जवाफमा ओलीले राजीनामा नदिने भन्दै सकेको कदम चाल्न चुनौती दिएका छन् ।

नेताहरुका अनुसार शीर्ष नेताहरुबीच सहमति हुन नसके पनि भोलि स्थायी कमिटीको बैठक बस्नेछ । ‘नेताहरुबीच सहमतिको प्रयास चल्दै गर्छ, स्थायी कमिटीको बैठक भने पूर्ववत एजेण्डाअनुसार बस्ने सहमति भएको छ ।